काठमाडौं । बंगालको खाडीमा एक महिनाभन्दा कम समयमै तेस्रो चक्रवात विकसित भएको छ। यसअघि ‘अर्नब’ र ‘मुरासु’ नामका चक्रवात बनेको क्षेत्रमा अहिले ‘अकवान’ नामको अर्को चक्रवाती आँधी सक्रिय भएको हो। विश्व मौसम संगठन (डब्लुएमओ) अन्तर्गतको क्षेत्रीय समितिले निर्धारण गरेको नामावलीअनुसार यस आँधीको नाम इरानले दिएको हो।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले अकवान चक्रवात भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रतर्फ अघि बढिरहेको जनाएको छ। विभागको अनुमानअनुसार नोभेम्बर १९ देखि २० अर्थात् मंसिर ४ र ५ गतेको आसपासमा यसले भारतीय तट पार गर्न सक्नेछ।
आईएमडीको पछिल्लो विवरणअनुसार दक्षिणी तथा पश्चिम–मध्य बंगालको खाडीको मध्य भागमा रहेको चक्रवात पछिल्लो ६ घण्टामा प्रतिघण्टा करिब ३ किलोमिटरको गतिमा उत्तरतर्फ सरेको छ। मंसिर १ गते मध्यरातसम्म यो प्रणाली १२.५ डिग्री उत्तरी अक्षांश र ८५.६ डिग्री पूर्वी देशान्तरमा अवस्थित थियो।
उक्त चक्रवात तमिलनाडुको चेन्नईबाट करिब ५९० किलोमिटर पूर्व, श्रीलंकाको त्रिणकोमालीबाट ६४० किलोमिटर उत्तरपूर्व, आन्ध्र प्रदेशको मछलीपट्टनम र विशाखापट्टनमबाट करिब ६३० किलोमिटर दक्षिणपूर्व तथा ओडिशाको गोपालपुरबाट ७६० किलोमिटर दक्षिणमा रहेको विभागले जनाएको छ।
मौसम विभागको प्रक्षेपणअनुसार अकवान उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै मंसिर २ गते गम्भीर चक्रवाती आँधीमा परिणत हुन सक्नेछ। त्यसपछि मंसिर ३ गते साँझसम्म यसको शक्ति थप बढेर अति गम्भीर चक्रवाती आँधी बन्ने अनुमान गरिएको छ।
मंसिर ४ गते आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रअन्तर्गत नेल्लोर र विशाखापट्टनमबीचबाट यसले जमिनमा प्रवेश गर्न सक्ने सम्भावना छ। तटीय क्षेत्रमा प्रवेश गर्दा आँधीको निरन्तर हावाको गति प्रतिघण्टा १२० देखि १३० किलोमिटर र हावाको झोक्का १४५ किलोमिटरसम्म पुग्न सक्ने आईएमडीको आकलन छ।
यसअघि गत अक्टोबर २५ अर्थात् कात्तिक ८ गते बंगालको खाडीमा ‘अर्नब’ चक्रवात विकसित भएको थियो। त्यसको न्यूनचापीय प्रणालीको बाहिरी प्रभावका कारण नेपालमा कात्तिक १२ देखि १४ गतेसम्म वर्षा भएको थियो भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत भएको थियो।
अर्नब कमजोर भएको केही समयपछि कात्तिक १५ गते बंगालको खाडीमै ‘मुरासु’ नामको अर्को चक्रवात बनेको थियो। उक्त प्रणाली कात्तिक १७ गते आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो। तर, यसको प्रभाव नेपालमा खासै देखिएन। यस्तै, कात्तिक २५ गते काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा परेको असिनापानी चक्रवातका कारण नभई पश्चिमी र स्थानीय वायुको प्रभावले भएको मौसमविद्हरूको भनाइ छ।
लगातार चक्रवात विकसित भइरहेका बेला अकवानले नेपालमा कस्तो प्रभाव पार्ला भन्ने चासो पनि बढेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार चक्रवात जमिनमा प्रवेश गरेपछि यसको दिशा र तीव्रताका आधारमा नेपालमा पर्न सक्ने प्रभावबारे थप स्पष्ट हुनेछ। हालको विश्लेषणले भने नेपालमा उल्लेख्य असर पर्ने सम्भावना देखाएको छैन।
ढकालका अनुसार चक्रवातको बाहिरी प्रणालीका कारण नेपालको पूर्वी भूभागमा आंशिक बादल लाग्न सक्छ। वर्षा भए पनि एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको र लगातार झरी वा भारी वर्षाको संकेत नरहेको उनले बताएका छन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि अकवानका कारण नेपालमा भारी वर्षा हुने संकेत नरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो विश्लेषण सार्वजनिक गर्दै उनले आगामी आइतबार र सोमबार पूर्वी नेपालको केही स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि ठूलो वर्षाको स्पष्ट आधार नदेखिएको उल्लेख गरेका छन्।
मौसमविद्हरूका अनुसार नेपाल भूपरिवेष्ठित मुलुक भएकाले बंगालको खाडीमा विकसित हुने चक्रवातको प्रत्यक्ष प्रभाव यहाँ पर्दैन। तर, चक्रवात जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै उत्तरतर्फ सर्ने क्रममा त्यसको न्यूनचापीय प्रणाली र बाहिरी बादल नेपालसम्म आइपुग्न सक्छन्। यस्तो अवस्थामा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहने गर्छ।