काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले टेकुस्थित बायो–मिथेनेसन प्लान्टबाट उत्पादित ग्यास उपभोक्तासम्म पुर्याउन आवश्यक कानुनी तथा नीतिगत व्यवस्था तत्काल गर्न संघीय सरकारसँग आग्रह गरेकी छन्।
बिहीबार प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले विशेषगरी पाइपलाइनमार्फत घरघरमा बायोग्यास वितरण गर्ने स्पष्ट नीति नहुँदा उत्पादन सुरु भए पनि यसको प्रभावकारी उपयोगमा समस्या देखिएको बताइन्।
उनका अनुसार उत्पादित ग्यास सिलिन्डरमा भरेर वितरण गर्ने वा पाइपलाइनमार्फत घरसम्म पुर्याउने भन्ने विषयमा सरकारले स्पष्ट मापदण्ड बनाउन आवश्यक छ। लामो समयदेखि प्राविधिक समस्याका कारण बन्द रहेको प्लान्ट महानगरपालिकाले पुनः सञ्चालनमा ल्याएको उल्लेख गर्दै उनले नीतिगत अन्योल कायम रहे उत्पादनले मात्र अपेक्षित उपलब्धि हासिल गर्न नसक्ने बताइन्।
प्लान्टको दीर्घकालीन सञ्चालन सुनिश्चित गर्न महानगरले निजी क्षेत्र र प्राविधिक विज्ञहरूसँग छलफल गरिरहेको पनि डंगोलले जानकारी दिइन्। उनका अनुसार निर्माण गरेर सञ्चालनमा ल्याउनु मात्र पर्याप्त नभई उत्पादित ग्यासको नियमित वितरण र बजार व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने आवश्यकता छ।
कार्यक्रममा उनले टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेसन) आगामी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिइन्। केही अत्याधुनिक उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले निर्माणमा केही ढिलाइ हुन सक्ने उनको भनाइ छ। केन्द्र सञ्चालनमा आएपछि जैविक र अजैविक फोहोर छुट्याउने तथा पुनः प्रयोग गर्न सकिने सामग्री व्यवस्थापन गर्ने काम थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, फोहोरलाई इन्धनका रूपमा प्रयोग गर्ने ‘रिफ्युज डिराइभ्ड फ्युल’ (आरडीएफ) सम्बन्धी नीति निर्माण गर्न पनि डंगोलले सरकारसँग आग्रह गरेकी छन्। सिमेन्ट उद्योगमा कोइलाको विकल्पका रूपमा प्रशोधित फोहोर प्रयोग गर्न सकिने व्यवस्था बनाउनुपर्ने उनको धारणा छ।
फोहोरलाई व्यवस्थापन गर्नुपर्ने समस्याका रूपमा मात्र नहेरी ऊर्जा उत्पादन र आर्थिक स्रोतका रूपमा उपयोग गर्नुपर्नेमा उनले जोड दिइन्।