युट्युबमा १० लाख सशुल्क सदस्य बनाउने पहिलो सिर्जनाकर्ता बने समय रैना

युट्युबमा १० लाख सशुल्क सदस्य बनाउने पहिलो सिर्जनाकर्ता बने समय रैना

काठमाडौं । भारतीय हास्य कलाकार तथा युट्युबर समय रैनाले युट्युबमा सशुल्क च्यानल सदस्यको संख्या १० लाख पुर्‍याउँदै नयाँ कीर्तिमान बनाएका छन्। उनी यो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो युट्युबर बनेका छन्।

रैनाको युट्युब च्यानलमा निःशुल्क सब्सक्राइबरको संख्या १ करोड २४ लाख पुगेको छ। यसबाहेक मासिक शुल्क तिरेर च्यानलको सदस्यता लिने दर्शकको संख्या पनि १० लाख नाघेको हो। उनको च्यानलको सदस्यता शुल्क प्रतिमहिना न्यूनतम ५९ भारतीय रुपैयाँ रहेको छ।

गुगल इन्डियाले आफ्नो आधिकारिक ब्लगमार्फत रैनाको उपलब्धिको प्रशंसा गरेको छ। कम्पनीका अनुसार दर्शकले आफूलाई मन पर्ने सिर्जनाकर्तालाई प्रत्यक्ष आर्थिक सहयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ।

यो उपलब्धि रैनाका लागि विशेष मानिएको छ। सन् २०२५ फेब्रुअरीमा उनको कार्यक्रम ‘इन्डियाज गट लेटेन्ट’ मा सहभागी युट्युबर रणवीर अलाहबादियाले विवादास्पद टिप्पणी गरेपछि कार्यक्रम आलोचनामा परेको थियो। त्यसपछि रैनाले माफी माग्दै कार्यक्रमका सबै भाग युट्युबबाट हटाएका थिए।

विवादपछि कठिन समय बिताएको बताएका रैना सन् २०२६ मा ‘स्टिल अलाइभ’ नामक हास्य प्रस्तुतिमार्फत दर्शकमाझ फर्किएका थिए। उनले ‘इन्डियाज गट लेटेन्ट’ को दोस्रो सिजन पनि पुनः सञ्चालनमा ल्याएका थिए।

गुगल इन्डियाका अनुसार सन् २०२६ जुनमा भारतमा १२ लाखभन्दा बढी दर्शकले कम्तीमा एउटा युट्युब च्यानलको सशुल्क सदस्यता लिएका थिए। यसबाट भारतीय सिर्जनाकर्ताको सदस्यता आम्दानी अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतभन्दा बढी वृद्धि भएको कम्पनीले जनाएको छ।

रैनाको पछिल्लो उपलब्धिलाई युट्युबमा सिर्जनाकर्ता र दर्शकबीचको आर्थिक सहकार्य बढ्दै गएको उदाहरणका रूपमा हेरिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply