अर्थ-स्वास्थ्य

जनकपुर–वीरगञ्ज रेलमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्राथमिकतामा

रौतहट, २८ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले काठमाडाँै तराई द्रुतमार्ग निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिन आफूले ठूलो चुनौतीको सामना गरेको बताउनुभएको छ । चन्द्रपुर नगरपालिकामा आज चन्द्रपुर महोत्सव २०७४ को उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले प्रदेश २ को विकासको आधारका रुपमा रहेको जनकपुर–वीरगञ्ज रेलमार्ग र निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरकारको प्राथमिकतामा रहने बताउँदै जनकपुर, पशुुपतिनाथ र लुुम्बिनीलाई धार्मिक पर्यटन विकासका लागि थप योजना ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिनुुभयो ।
कार्यक्रममा सांसद विनोद चौधरीले देश विकासका लागि सरकारले औद्योगिक क्रान्तिको शुरुआत गर्नुपर्ने बताउँदै सरकारले प्रदेश २ मा औद्योगिक क्षेत्रमा लगानी गरेमा आफूले चौधरी पार्क निर्माण गर्ने घोषणा गर्नुुभयो । उहाँले चन्द्रपुर नगर क्षेत्रमा चौधरी ग्रुपले चाँडै उद्योग स्थापना गरेर रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । चन्द्रपुर महोत्सव २०७४ चन्द्रनिगाहपुर सिटी जेसिसको मुख्य आयोजना तथा चन्द्रपुर नगर उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी संघ रौतहटको सहप्रयोजनमा आगामी चैत ७ गतेसम्म चन्द्रनिगाहपुरस्थित तुल्सीलाल अमात्य खेल मैदानमा भइरहेको छ ।