Uncategorized

पूर्वराजाद्वारा कैलालीको शिवपुरी धामको दर्शन

कैलाली, १९ पुस ।  पूर्वराजा ज्ञानेन्द्र शाहले आज धनगढीको उत्तरबेहडी–४ स्थित शिवपुरी धामको दर्शन गर्नुभयो । पूर्वराजा शाहले धनगढीकोे शिवपुरी धाम परिसरमा रहेको १०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गर्ने क्रममा आफू यस धार्मिक क्षेत्रको दर्शनका लागि इच्छुक रहेको र यो अरु केही नभई विशुद्ध धार्मिक यात्रा रहेको बताउनुभयो । उहाँले शिवपुरी धाम परिसरस्थित शिव मन्दिरमा पूजाआजा पनि गर्नुभयो ।
शिवपुरी धामको दर्शन गरी फर्कने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अहिले देशको अवस्था राम्रो रहेको र अहिल्यै बोलिहाल्ने केही कुरा नरहेको बताउनुभयो । सोल्टी होटल प्रालिको उद्घाटनका लागि पूर्वराजा एक हप्तादेखि स–परिवार नेपालगञ्जमा बस्दै आउनुभएकामा आज बिहान मात्रै धनगढी आइपुग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । पूर्वराजासँगै पूर्वरानी कोमल, बुहारी हिमानी र नातिनी प्रेरणा शाह पनि धनगढी आउने कार्यक्रम रहेको भए तापनि पूर्वराजा शाह मात्रै यस क्षेत्रको दर्शनका लागि आउनुभएको मूल स्वागत समितिले जनाएको छ । पूर्वराजाको स्वागतका लागि कयौँ चौधरीको संयोजकत्वमा १०१ सदस्यीय मूल स्वागत समिति गठन गरिएको छ ।