लहान, ६ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ठेक्कापट्टामा ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारीको अब कुनै गुन्जाइस नभएको बताउनुभएको छ । पूर्वपश्चिम हुलाकी राजमार्गको स्तरोन्नती कार्यको आज सिरहाको बरियारपट्टिमा शिलान्यास गर्दै उहाँले ठेक्कापट्टामा हुुँदै आएको ढिलासुस्ती र कमिसनखोरीका कारण देशको विकास निर्माण अस्तव्यस्त भएकाले अब त्यस्तालाई नछाड्निे प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो– “सुशासनबिना बिकासको कल्पना गर्न सकिदैन्, सुशासन कायम गर्न भ्रष्टमाथि कडा कारबाही गर्नैपर्छ, त्यसका लागि सरकारले कडा कदम चाल्नेछ ।” राजनीतिक क्रान्ति पुरा भइसकेको बताउँदै उहाँले अब हामीले विकासको नयाँ क्रान्ति गर्दै पाँचदेखि १० वर्षभित्रमा नेपाललाई विश्वकै समृद्ध मुलुक बनाउने धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले बिगतको जस्तो कमजोर र अस्थिर अहिलेको सरकार होइन् बताउँदै “नेपालकै इतिहासमा पहिलो पटक हामीलाई बलियो हात दिएर जनताले सिंहदरबर पठाएका छन्, त्यसैले अब हामीले फटहा, कमिसनखोर र बेथिति बनाउनेलाई जेल हाल्न पछि पर्दैनौ,” भन्नुभयो । चुनाबका बेला वामगठबन्धले साझा घोषणापत्रमार्फत जनतालाई सुशासन, स्थायीत्व, विकास र समृद्धिको आश्वासन बाँडेको उल्लेख गर्दै उहाँले जनताले विश्वास र भरोसा गरेर वामगठबन्धको झन्डै दुई तिहाईको यो सरकारले अब जनताको त्यो इच्छा र भरोसा पुरा गर्ने दाबी गर्नुभयो ।
अध्यक्ष दाहालले सिँंचाइ र सडक पूर्वाधारको विकास नभएसम्म मधेशमा हरित क्रान्ति केबल हावाको क्रान्ति मात्र हुने टिप्पणी गर्दै सिँचाइ र सडक पूर्वाधारको विकासमा ठोस योजनाका साथ सरकारले काम गर्ने बताउनुभयो । मधेसकै लाइफ लाइनका रुपमा रहेका हुलाकी राजमार्गको स्तरोन्नतिको योजना आफू प्रधानमन्त्री भएकै बेलामा अघि बढ्ेको चर्चा गर्दै उहाँले अब कुनै पनि बाहानामा हुलाकी राजमार्गको काम नरोकिने बताउनुभयो । अध्यक्ष दाहालले मधेश केन्द्रित दलरुसँग निरन्तर छलफल गरी संविधान संशोधनको नजिक पुगेको बताउँदै छिट्टै संविधान संशोधन भएर यसप्रतिको मधेशी जनताको असन्तुष्टि अन्त्य हुने विचार व्यक्त गर्नुभयो ।
Add Comment