विविध

स्थानीय तहको सेवा प्रवाहबारे अध्ययन गर्न मन्त्रालयद्वारा टोली गठन

काठमाडौँ, २३ पुस  । सरकारले स्थानीय तहको सेवा सञ्चालन र व्यवस्थापनको अवस्थाबारे सहजीकरण तथा अनुगमन गर्न टोली गठन गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा आएका विषय तथा कति स्थानीय तहका प्रमख एवं पदाधिकारीले दिएको जानकारी तथा गुनासो र सुझाव समेतलाई दृष्टिगत गरी सातै प्रदेशमा अनुगमन गर्न टोली गठन गरेको हो ।
‘प्रदेश नं १ देखि ७ सम्म क्रमशः सहसचिव आनन्दराज ढकाल, सुरेश ढकाल, डा हरि पौडेल, रामकृष्ण सापकोटा, पुरुषोत्तम नेपाल, वेदबहादुर कार्की र रुन्द्रसिंह तामाङको नेतृत्वमा टोली गठन गरिएको छ’–मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । जिल्ला–जिल्लाका लागि उपसचिवको नेतृत्वमा टोली गठन गरिएको छ । सहजीकरण तथा अनुगमन टोलीले कर्मचारी समायोजन, विषयगत कार्यालयको सम्पत्ति हस्तान्तरण, वडा कार्यालय सञ्चालन एवं व्यवस्थापन र सेवा प्रवाहको अवस्थाबारे अनुगमन गरेर प्रतिवेदन बुझाउनेछ ।