अर्थ

गुल्मी महोत्सव सम्पन्न, एक लाख दर्शकद्वारा अवलोकन

गुल्मी, २७ चैत ।  कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्ने उद्देश्यले यहाँमा आयोजना गरिएको तेस्रो गुल्मी महोत्सव सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ १६ गतेबाट महोत्सव शुरु भएकोे थियो ।
सदरमुकाम तम्घासमा सम्पन्न महोत्सवमा गुल्मीमा उत्पादित विभिन्न कृषिजन्य सामग्रीलाई मुख्य प्राथमिकता दिँदै ढिकी, जाँतो, कोल घुमाएर चिउरीको घिउ निकाल्ने, उखु पेल्नेलगायत लोप हुन लागेका विभिन्न पुराना सामग्री प्रदर्शनमा राखिएका थिए । महोत्सवमा करीब एक लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ भने कूल रु छ करोडभन्दा बढीको कारोबार भएको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिनुभयो ।
महोत्सवको अवसरमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीसँगै गुल्मी जिल्लामा विभिन्न जाति विशेष रहेका खाना परिकार, विभिन्न संस्कृति झल्किने झाँकी पनि प्रदर्शन गरिएको थियो । वाणिज्य संघ गुल्मीले प्रत्येक दुई वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवमार्फत जिल्लामा लुकेर रहेका साहित्य, संगीत, कला, कौशल सीपको संरक्षण सम्वद्र्धन गर्ने, परम्परागत वेषभूषालाई उजागर गर्ने उद्देश्य राखिएको थियो ।
जिल्लामा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसार गरी गुल्मीलाई पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा विकास गरी समग्र आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने विविध उद्देश्यका साथ महोत्सव गरिएको वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताउनुभयो ।
महोत्सवमा जिल्लामा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, माछालगायतका अरु कृषिजन्य सामग्री तथा सेरामिक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीलाई उच्च प्राथमिकताका दिइएको थियो । महोत्सवबाट आम्दानी भएको रकममध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत वाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ ।