अछाम, २९ चैत । नयाँ वर्ष नजिकिँदै गर्दा सुदुरपश्चिममा बिसु पर्वको रौनक शुरु भएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रुपमा मनाउने चलन छ । बिसु पर्व विशेषगरी सुदुरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइन्छ । अछाम, डोटी, डडेल्धुरा, बझाग, बाजुरा र बैतडीमा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ । देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा छ ।
हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परीकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । “बिसुको दिनमा विशेषगरी देवर भाउजु र साली भिनाजुबीच सिस्नो लगाउने जुहारी नै चल्छ” स्थानीय शान्तादेवी कुँवरले भन्नुभयो । तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको छ । पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ । सुदुरपश्चिमको महत्वपूर्ण पर्वका रुपमा रहेको बिसु पर्व आउनु पूर्व नै जिल्लामा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्ने (स्थानीय भाषामा घर छिप्ने) गरिन्छ । विशेष गरी घर छिप्ने कार्यमा महिलाहरु सक्रिय हुन्छन् ।
नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्ष भरी नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । बैशाख सुरु भएसँगै रोग ब्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घर परिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन रहेको प्रभा धम्कोट उच्च माबिका पूर्वप्रधानाध्यापक कुलबहादुर कुवरले बताउनुभयो । ‘सुदुरपश्चिमका पहाडी जिल्लामा नयाँ वर्षलाई बिसु पर्व मानेर खुशीयाली मनाउने चलन छ, उहाँले भन्नुभयो, बढि जसो भारत गएकाहरु बिसु मनाउन घर फर्किन थालेपछि गाउँघरमा चहलपहल बढेको छ ।’ नयाँ वर्ष अर्थात बिसु पर्व मनाउनकै लागि नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमेली एक साता अघिदेखि नै घर फर्किने तथा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन छ ।
Add Comment