अर्थ-स्वास्थ्य

नेप्सेमा ३२ अंकको वृद्धि

काठमाडौँ, ५ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ३१.८३ वृद्धि भई कारोबारमा व्यापकता आएको छ । दोहोरो अंकको वृद्धिसहित रु एक अर्ब १२ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेकाअनुसार १० वटै उपसमूहमा कारोबार रकम अधिकरुपमा बढेको छ । आज १६५ कम्पनीमध्ये १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ कम्पनीको शेयर मूल्य घटेको छ । सात कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
हाइड्रोपावर उपसमूहमा सबैभन्दा बढी प्रतिशत अर्थात् ६.९२ प्रतिशतको बढेको छ । विकास बैंक ४.२३, बैंकिङ २.८६, व्यापार २.१५, फाइनान्स २.०४, होटल, उत्पादन र अन्य उपसमूह १ प्रतिशतले बढेको छ भने बीमामा सबैभन्दा कम ०.९२ प्रतिशतले मात्र बढेको छ । बीमा रु ३९ करोड ३४ लाख, बैंक ३० करोड २३ लाख, लघुवित्त १५ करोड ७२ लाख तथा जलविद्युत् उपसमूहको १० करोड भन्दाको शेयर कारोबार भएको छ ।-रासस