सुर्खेत, १४ वैशाख । जुम्लामा वैशाख १३ गतेदेखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । उद्योग वाणिज्य संघ, जुम्लाको आयोजना, एक नगरपालिका र सात गाउँपालिकाको सहआयोजनामा बृहत् कृषि, पर्यटन, कृषि, संस्कृति तथा औद्योगिक व्यापार मेला शुरु गरिएको हो । कर्णाली प्रदेशको कृषि, पर्यटन, संस्कृति तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ १० दिने बृहत् औद्योगिक व्यापार महोत्सव शुरु गरिएको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले बताउनुभयो ।
जुम्ला सदरमुकामको प्रस्तावित रंगशाला राजासिममा आयोजना भएको महोत्सवको उद्घाटन संघीयसभाका सांसद गजेन्द्रबहादुर महतले गर्नुभयो । चन्दननाथ बहुउद्देश्यीय सहकारीका महिलाले कर्णाली मौलिक पहिचानका रुपमा रहेको खस सभ्यता झल्काउने मागल गानको बीचमा सांसद महतले महोत्सवको उद्घाटन गर्नुभयो । वैशाख १३–२३ गतेसम्म सञ्चालन हुने महोत्सवमा बोल्दै सांसद महतले महोत्सवले उद्योग, पर्यटन र संस्कृतिको क्षेत्रको प्रवद्र्धनमा प्रेरणा, उद्यमीलाई अवसर र जिल्लाका लागि नयाँ कार्ययोजनाका साथ अघि बढ्न निर्देश गरेको जनाउनुभयो । “अब आयातमा बाँच्ने होइन, स्थानीय उत्पादन बढाउ । हाम्रा स्थानीय बाली नै मुलुकका लागि उत्तम खाद्य मानिन्छन्,” उहाँले भन्नुभयो ।
उहाँले यहाँको स्याउ, सिमी, कालिमार्सी र रातीमार्सी धान तथा पशुपालनलाई बढोत्तरी गर्दा मुलुक समृद्धिमा सहयोग पुग्ने बताउनुभयो । एक फरक प्रसंगमा सांसद महतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्राविधिक शिक्षालय कर्णालीका सम्पत्ति भएकाले तिनको जगेर्ना र गुणस्तरीयता ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन पूर्वराज्यमन्त्री बलबहादुर महत, पूर्व पशुपक्षी राज्यमन्त्री गोमा कुँवर, जिल्ला समन्वय समिति उपप्रमुख कार्मा बुढा, नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखसहित कलाकारको उपस्थिति रहेको थियो ।
महोत्सवको आकर्षण स्थानीय उत्पादन :उद्योग वाणिज्य संघ जुम्लाद्वारा आयोजित महोत्सवमा स्थानीय उत्पादन अर्गानिक स्याउ, फापर, कोदोका परिकार, चिनो, कागुनोको खीर, मकै तथा मार्सेका लड्डु, राडीपाखी, खरायोको टोपी, गलबन्दी मुख्य आकर्षण बनेका छन् । आलु चिप्स, कोदोको मःमः, फापरको केक, चौँरीको दूधबाट बनेको छुर्पीका साथै पुराना संस्कृतिका कपडासमेत नमूनाका लागि महोत्सवमा राखिएको आयोजक संघले जनाएको छ । त्यस्तै, स्टेशनरी सामान, कपडा होलसेल बिक्री, विभिन्न सामानका गरेर १५० स्टल महोत्सवस्थलमा राखिएका छन् ।
महोत्सवमा आठवटै स्थानीय तहका लोक संस्कृतिका देउडा प्रतियोगिता, गायन, यहाँको विवाहमा देखाइने बालो नाच, स्थानीय ढाल नाच, स्थानीय र राष्ट्रियस्तरका चर्चित गायकको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गरिने भएका छन् । कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन बर्ष— २०७५’ मनाउने घोषणा गरेबमोजिम पर्यटन तथा औद्योगिक व्यापारको प्रवद्र्धन गर्ने अपेक्षाका साथ महोत्सव शुरु भएको संघका अध्यक्ष रावलले बताउनुभयो । महोत्सवको पहिलो दिनमा आन्तरिक तथा बाह्य पर्यटक गरेर तीन हजार ७०० ले अवलोकन गरेका छन् । महोत्सवमा रु ८० लाख खर्च हुने जनाइएको छ ।
Add Comment