बेनी, म्याग्दी, १४ वैशाख । मानवीय सेवामा संलग्न विश्वमै ठूलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब इन्टरनेशनलले म्याग्दीका दुई सामुदायिक विद्यालयलाई रु चार करोड ५० लाखमा भवन बनाइदिने भएको छ । जिल्लामा नेतृत्व, व्यक्तित्व विकाससँगै सामाजिक तथा परोपकारी कार्यमा सक्रिय रहेको लायन्सले बेनी नगरपालिका–९ तोरीपानीमा अवस्थित गलेश्वर मावि र मालिका गाउँपालिका–७ विमको किसानी माविमा आठकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु दुई करोड २५ लाख विनियोजन गरेको लायन्स क्लबका प्रमुख सल्लाहकार चन्द्रकुमार केसीले जानकारी दिनुभयो ।
“जिल्लाका अन्य सामुदायिक विद्यालयमा समेत प्रयास भएको थियो । छनोट समितिले प्राविधिक शिक्षालयलाई प्राथमिकता दियो” केसीले भन्नुभयो । किसानी माविमा आइएससी (एजी) कृषि र गलेश्वर माविमा इञ्जिनियरिङ पढाइ हुने गरेको छ । देशभरका लायन्स क्लबबाट सामुदायिक विद्यालयको भौतिक संरचना, विद्यार्थीको संख्यालगायत स्थलगतरुपमा अनुगमन गरी सिफारिस गरिएका विद्यालयलाई नौ सदस्यीय टोलीले छनोट गरेको थियो । स्थलगत अनुगमनको क्रममा जिल्लाका आवश्यक संरचना भएका विद्यालयको जग्गाको अभाव तथा साँघुरो संरचनाले समेत थप विद्यालय छनोट हुन नसकेको लायन्स क्लबले जनाएको छ ।
छनोटमा परेको गलेश्वर माविमा माध्यमिक तहमा जिल्लामै एकमात्र इञ्जिनियरिङ कक्षा र किसानी माविमा कृषि जेटिए कक्षा सञ्चालन भइरहेको छ । दुवै विद्यालयमा विद्यार्थीको आकर्षण धेरै भए पनि भौतिक संरचनाको आवश्यकता रहेको थियो । लायन एमजिएफ सन्तोष रावलका अनुसार जिल्लामा चारवटा सामुदायिक विद्यालयको भवनका लागि प्रयास भएपनि दुईवटा मात्रै छनोटमा परेका हुन् ।
Add Comment