Uncategorized

चट्याङ लागेर सात घाइते, गहुँबाली नष्ट

अछाम, १५ वैशाख । मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् । असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको प्रहरीले जनाएको छ । छ जना सामान्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।
यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिनुभयो । किसानले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन् । यसैबीच असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो क्षति पु¥याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउदले जानकारी दिनुभयो । “उहाँले भन्नुभयो; पाकेको गहुँ असिनाले लग्यो, अब के खाने भन्ने चिन्ताले सताउन थाल्यो ।” आधा केजीसम्मको असिना परेपछि तरकारी र गहँुखेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताउनुभयो ।

उता त्रिशूली नुवाकोटमा हावाहुरीसँगै परेको असिनापानीले जिल्लामा लाखौंँको बाली नष्ट भएको छ । शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । शिवपुरीका लिखु, तलाखु, सुनखानी, महाकाली र समुन्द्रादेवी तथा पञ्चकन्याको पञ्चकन्यामा परेको असिनापानीबाट मकै, गहुँ तथा धान बाली नष्ट भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण तरकारी जोन प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । डा गैरेका अनुसार तरकारी बालीमा घिरौँला, गोलभेडा, काँक्रो, करेलालगायत र फलफूलमा समेत क्षति पुगेको छ ।

“क्षतिको विवरण संकलन गर्न कर्मचारीहरु खटिएका छन् । वडा कार्यालय, गाउँपालिकाको कार्यालय नै क्षतिको विवरण संकलन गर्न लागेका छन्”, डा गैरेले भन्नुभयो “केही दिनमा क्षतिको विवरण आउने छ ।” खेतमा लगाइएको मकै भर्खर चमरा निस्कने बेला र गोलभेंडा, करेला, काँक्रोलगायत तरकारी भर्खर टिप्ने बेलामा परेको असिनाले किसान मारमा परेका छन् ।