Uncategorized

असिनाले बीउ नै बाँकी राखेन

जाजरकोट, १९ वैशाख । गएराति परेको असिनाले जिल्लाको बारेकोट गाउँपालिका तथा कुशे गाउँपालिकामा गहुँको बीउ नै नरहने गरी क्षति भएको छ । गएराति लगातार दुई घण्टा परेको असिनाले गहुँ, अन्य तरकारी बाली, जंगलमा रहेको काफललगायतमा क्षति भएको बारेकोट गाउँपालिका–५ का स्थानीयवासी जनकबहादुर शाहीले जानकारी दिनुभयो । गहुँ पाकेर भित्र्याउन ठिक्क भएका किसान असिनाले क्षति बनाएपछि किसान पीडामा रहेको शाहीको भनाइ छ । बारेकोट गाउँपालिकाका करीब पाँच हजार घरधुरीले लगाएको गहुँ र तरकारी बालीमा क्षति भएको हो । वर्षेनि खाद्य संकट पर्ने यो क्षेत्रमा यो पटक भित्र्याउन ठिक्क भएको अवस्था रहेको गहुँमा क्षति भएपछि किसान खाद्य अभावको चिन्तामा परेका छन् । वर्षे बाली भण्डारण गरेको अन्न सकिएको र नयाँ अन्न असिनाले नष्ट गरेपछि यहाँका किसान मर्कामा परेका हुन् । अहिलेसम्मकै ठूलो असिना परेको कुशे गाउँपालिकाका स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिनुभयो । कुशेका केही क्षेत्रमा मात्र गहुँबालीमा क्षति भएको स्थानीयले बताएका छन् । थापाका अनुसार गहुँको नल समेत असिनाले बाँकी राखेको छैन । बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले क्षतिको समाचारले आफू निकै चिन्तित भएको बताउनुभयो ।

स्थानीय बजारमा खाद्यान्न नपाइने र नेपाल खाद्य संस्थानको घाट डिपोमा चामल नभएका कारण समस्या भएको स्थानीयवासीको गुनासो छ । असिनाकै कारण बारेकोटकै चौथारी पाटनमा ४० भन्दा बढी भेडा मरेको किसानले जानकारी दिएका छन् । जाजरकोटका प्रतिनिधिसभा सदस्य तथा वन मन्त्री शक्तिबहादुर बस्नेतले असिनाले गहुँमा पारेको क्षतिका विषयमा चिन्तित भएको बताउँदै खाद्य संकट टार्न पहल गरिने बताउनुभयो । क्षतिको विवरण लिन स्थानीय गाउँपालिका र प्रशासनलाई निर्देशन दिइएको र विवरण आउने बित्तिकै राहत प्याकेजका लागि गृहकार्य हुने उहाँको भनाइ छ ।

कर्णाली प्रदेशमा असिनापानीले लाखौंको क्षति : कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पु¥याएको छ । असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नका लागि सरकार लागि परेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले बताउनुभएको छ । मन्त्री केसीले हावाहुरीसहित परेको असिनापानीले कर्णालीका विभिन्न जिल्लामा अन्नबाली, फलफूल र तरकारीखेती नष्ट गरी समस्यामा परेका किसानलाई तत्काल राहतको व्यवस्थाका लागि सरोकारवाला निकायसँग छलफल गर्नुभएको छ ।
यही वैशाख १६ र १७ गते परेको असिनापानीले जाजरकोट, डोल्पा र रुकुम जिल्लामा पाक्ने अवस्थाको गहुँ र जौ बाली नष्ट गरिदिएपछि मन्त्री केसीले चासो लिएर आज आन्तरिक मामिला तथा कानून मन्त्रालयमा छलफलको आयोजना गर्नुभएको हो । छलफलमा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले सरकारले तत्कालै प्रभावित जिल्लामा भएको क्षतिको विवरण संकलन गरी राहतको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव दिएका थिए ।
छलफल कार्यक्रममा मन्त्री केसीले असिनापानीबाट पीडित किसानलाई उचित राहत तथा क्षतिपूर्ति व्यवस्थाका लागि पहल कर्णाली प्रदेश सरकारले गर्ने बताउनुभयो । “क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ, के कति क्षति भयो अझै यकिन नभए पनि सयौँ हेक्टरमा लगाइएको जौ, गहुँबालीका साथै तरकारी खेती र फलफूल खेतीमा लाखौंको नोक्सान भएको प्रारम्भिक जानकारी आएको छ” उहाँले भन्नुभयो । असिनाले क्षति गर्दा किसान चिन्तित : जाजरकोट, डोल्पा र रुकुममा असिनाले लाखौंको क्षति गरिदिएपछि किसान चिन्तित भएका छन् । दुई दिनसम्म परेको असिनाले अन्नबालीका साथै फलफूल र तरकारी खेतीमा पनि ठूलो क्षति पु¥याएको जाजरकोटका प्रदेश सांसद कृष्णा शाहले बताउनुभयो ।
किसानले लगाएको पाक्न लागेको गहुँ असिनाले झारिदिएपछि बारीमा नल ( डाँठ) मात्र देखिन्छ । बाली सप्रेको बेलासमेत खाद्यान्न अभाव हुने ग्रामीण बस्तीमा यसपालि परेको असिनापानीले ठूलो क्षति पु¥याएको डोल्पाका प्रदेश सांसद वीरबहादुर शाहीले बताउनुभयो । किसानको क्षतिको परिपूर्ति गर्न प्रदेश र संघीय सरकारलाई उहाँले राहतको व्यवस्था गर्न आग्रह गर्नुभयो ।