Uncategorized

अल्पसंख्यक समुदाय राज्यको मूल प्रवाहमा आयो – अध्यक्ष दाहाल

काठमाडौँ, ५ माघ । नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धको प्रतिफलस्वरुप नै महिला, आदिवासी, जनजाती, अल्पसंख्यक समुदाय राज्यको मूल प्रवाहमा आउन सफल भएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज नवनिर्वाचित प्रदेशसभाका समानुपातिकतर्फका सांसदलाई बधाई दिन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लामो संघर्षको प्रतिफलस्वरुप नै राज्यको आँखा पुग्न नसकेको क्षेत्र तथा वर्ग अगाडि आएको बताउनुभयो । राज्यको नजरमा नै नपरेका समुदाय अगाडि आउनु आफूहरुका लागि खुशीको कुरा भएको स्पष्ट पार्दै उहाँले नेपाली काँग्रेस तथा नेकपा९एमाले०का तर्फबाट सांसद भएकासमेत आफ्नै जस्तो लाग्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनयुद्ध र जनआन्दोलनको पहलस्वरुप नै अल्पसंख्यक समुदाय राज्यको मूल प्रवाहमा जोडिन आएको छ । त्यो वर्ग तथा समुदाय नीति निर्माणका तहमा पुगेको छ । यसले नेपालको राजनीतिक, सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण स्थान राखेको छ ।” संघर्षको स्वरुप बद्लिएको भए पनि अझै अल्पसंख्यक, महिला, जनजाति, आदिवासी समुदायलाई अधिकार दिलाउन बाँकी नै रहेको स्पष्ट पार्दै अध्यक्ष दाहालले बदलिएको अवस्थामा प्रदेशसभा, संसद्मा विशिष्ठ भूमिका निर्वाह गर्न प्रदेशसभा सदस्यलाई आग्रह गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “आज मलाइ प्रदेशसभाको सदस्यलाई सम्मान गर्न पाउँदा खुशी लागेको छ, विशेष हर्ष र गर्भको महसुस भएको छ । हामीले परिकल्पना गरेको समावेशी लोकतन्त्र विस्तारै समृद्ध हुँदैछ ।”