Uncategorized

अकूत सम्पत्ति कमाउनेमाथि छानबिन गर्न माग

काठमाडौँ, वैशाख ।  राष्ट्रियसभाको बैठकमा बोल्ने सांसदहरुले सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार हटाउन गरेको प्रयासलाई सकारात्मक रुपमा लिँदै अन्य क्षेत्रमा समेत पहल गर्न आग्रह गरेका छन् । उनीहरुले यातायात क्षेत्रमा लामो समयदेखि जकडिएको एकाधिकार अन्त्य गरेर जनतालाई सहज रुपमा सेवा दिन गरेको प्रयास सराहनीय रहेको भन्दै सो क्षेत्रमा रहेको लगानीको सुरक्षित व्यवस्थापन गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद रामनारायण बिँडारीले यातायात क्षेत्रमा कुनै पनि प्रकारको एकाधिकार कायम हुन नहुने, एकाधिकारको नाममा अकूत सम्पत्ति कमाउनेको छानविन गर्न समिति गठन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार अन्त्य गरेको छ । यातायात समितिका नाममा अर्बौं रकम उठेको छ । त्यसको उचित व्यवस्थापन गर्नु पर्छ । सो रकम राज्यको नाममा कसरी ल्याउने भन्नेतर्फ उचित कदम चालिनु पर्छ ।”
सीमा क्षेत्रको समस्या समाधान गर्न माग : राष्ट्रियसभाको आजको बैठकमा धारणा राख्दै सांसद हरिराम चौधरीले कञ्चनपुरको पुनर्वास क्षेत्रमा भारतीय पक्षले गरेको सीमा अतिक्रमणलगायत विषयमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा स्पष्टसँग कुरा राख्न आग्रह गर्नुभयो ।
“भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न विशेष पहल गरियोस्”, उहाँले भन्नुभयो । यस्तै सांसद इन्दु कडरियाले नेपाल–भारत सीमा क्षेत्र व्यवस्थित गर्न आग्रह गर्नुभयो । उहाँले सीमा क्षेत्रमा सुरक्षाको प्रभावकारी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सांसद अनिता देवकोटाले पुनर्र्वास क्षेत्रमा भारतीय पक्षले सीमा अतिक्रमण गरेर नेपालीलाई दुःख दिएको भन्दै समस्या समाधानका लागि आग्रह गर्नुभयो ।
सांसदहरु रामप्रित पासवान, खेमराज नेपाली, शिवबहादुर विकलगायतले लामो समयदेखि देशका विभिन्न स्थानमा जातीय छुवाछूत जारी रहेको भन्दै त्यस्तो कार्यमा संलग्नमाथि कानूनी कारवाही गर्न माग गर्नुभयो । उहाँहरुले संविधानमा नै जातीय भेदभावविरुद्ध प्रष्ट व्यवस्था भए पनि त्यसको व्यावहारिक कार्यान्वयन नभएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने र दोषीमाथि कारवाही गर्नुपर्ने बताउनुभयो ।
यस्तै सांसद बृजेशचन्द्र लालले बाढीपीडितले विगतमा उचित क्षतिपूर्ति नपाएकाले वर्षा लाग्नुअगावै सुरक्षाको उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कालीबहादुर मल्लले हालै मुलुकका विभिन्न स्थानमा भएको वर्षा, असिनापानी र आगलागीका कारण बालीनाली र धनजनको क्षति भएको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति दिन आग्रह गर्नुभयो ।