काठमाडौँ, वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको छ । भारतका प्रधानमन्त्री मोदीसँग पूर्व प्रधानमन्त्री देउवाले आज अपराह्न होटल हायातमा भेटवार्ता गर्नुभएको हो । भेटमा वरिष्ठ काँग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महत, नेता अर्जुननरसिंह केसीलगायतका नेता सहभागी हुनुहुन्थ्यो । दुई नेताबीच द्विपक्षीय सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाएको भेटपछि नेका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सञ्चारकर्मीलाई बताउनुभयो ।
भारतीय प्रधानमन्त्रीको यसपटकको नेपाल भ्रमणमा धार्मिक पर्यटन र धार्मिक सम्बन्धले बढी चर्चा पाएको उल्लेख गर्दै उहाँले यसले दुबै देशको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उपनेता गच्छदारका अनुसार नेपाली काँग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्धलाई थप सदृढ बनाउने विषयमा समेत दुई नेताबीच कुराकानी भएको थियो । भेटमा सभापति देउवाले नेपालको आर्थिक एवं सामाजिक विकासमा भारत सरकारले गर्दैआएको सहयोगका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभएको थियो ।
सभापति देउवाको भनाइ उद्धृत गर्दै गच्छदारले भन्नुभयो, “राजनीतिक सहमतिमा जारी भएको संविधान कार्यान्वयन गर्दै नेपाल राजनीतिक स्थायित्व र आर्थिक विकासमा अगाडि बढिरहेको छ ।” भारतका प्रधानमन्त्री मोदीले नेपाललाई समृद्ध बनाउन यहाँका राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने र यसमा खासगरी युवापुस्तालाई अघि सार्नुपर्ने सुझाव दिनुभएको उहाँले जानकारी दिनुभयो ।
भारतका प्रधानमन्त्री मोदी र अध्यक्ष यादवबीच भेटवार्ता : नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा दुई देशको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचार विमर्श भएको थियो । पारस्परिक सहयोग र विकासका विषयमा प्रधानमन्त्री मोदीसँग कुराकानी भएको अध्यक्ष यादवले राससलाईजानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुलुकको समृद्धि र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग महत्वपूर्ण र सकारात्मक छलफल भयो ।” प्रधानमन्त्री मोदीलाई अध्यक्ष यादवले एक्लै भेटवार्ता गर्नुभएको हो ।
Add Comment