अर्थ-स्वास्थ्य

सगरमाथा आरोहण सम्पन्न, ४०० बढी शिखरमा, रु ३६ करोड राजश्व  :

काठमाडौँ, १२ जेठ । यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो । यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन भएको छ ।

त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गरेको छ । यो तथ्यांकमा केही बढ्न सक्ने पर्यटन विभागको भनाइ छ । विभागका निर्देशक रामप्रसाद सापकोटाकाअनुसार सगरमाथाबाट रु ३६ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी संकलन भएको छ । सगरमाथासँगै रहेको ल्होत्से हिमालबाट रु एक करोड ९८ लाख ९३ हजार ६० रोयल्टी संकलन भएको छ । यसैगरी कञ्चनजङ्घाबाट रु ८२ लाख २६ हजार ७२०, धौलागिरीबाट रु ६३ लाख ६३ हजार ९०, आमाडब्लामबाट रु २० लाख ४७ हजार ८७७ र मनास्लुबाट रु १४ लाख ९३ हजार २८० रकम संकलन भएको छ ।
यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका सगरमाथाको शिखर चुम्ने अभियानमा केन्द्रीत भएका थिए । सगरमाथा आरोहणको रोयल्टी समेत फरक ऋतुमा फरक/फरक नै छ । विभागकाअनुसार विदेशी नागरिकले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा रु ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मी याममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो । आरोहणको पहिलो दिन डोरी टाग्न पुगेका आठ शेर्पाले आरोहणको उद्घाटन गरेका थिए ।
विगतमा भन्दा कम क्षति : यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको क्रममा तीन जनाको मृत्यु भएको छ । यस्तै हिम पहिरोमा परी एकजना मात्रै बेपत्ता भएका छन् । खुम्बुफर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको यही जेठ २ गते बुधबार मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीका अनुसार आधार शिविर–२ को खुुम्बु आइसफलमा लडेर घाइते हुनुभएका शेर्पाको तत्काल उपचारका लागि सोही गाउँपालिका– ५ स्थित माउण्टेन मेडिकलमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
शेर्पा हिमालयन एशोसिएसन कम्पनीबाट सगरमाथा आरोहणमा जानुभएको थियो । यसअघि सगरमाथा आरोहणकै क्रममा दुई विदेशीको मृत्यु भएको थियो । शिविर तीन पुगेर फर्कने क्रममा गत आइतबार राति ३६ वर्षीय जापानी नोबुकाजु कुरिकी र ६२ वर्षीय मेसोडोनियाली जेओर्जी पेटकोभको सगरमाथाको शिविर तीन माथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । सम्पर्क अधिकृत श्रेष्ठकाअनुसार अघिल्ला वर्षमा भन्दा यस वर्षको आरोहणमा कम क्षति भएको छ ।
सन् २०१४ मा हिमपहिरोका कारण १६ नेपालीसहित १९ जनाको निधन भएको थियो । यस्तै सन् २०१२ मा हिमपहिरोमा परेर ११ जनाको निधन भएको थियो । यस्तै सन् २०१५ मा २२ आरोहीको मृत्यु भएको थियो । सन् २०१७ मा तीन आरोहीको निधन भएको थियो भने एक आरोही हराएका थिए । यस आधारमा हेर्दा यस पटकको आरोहणमा कम मात्रै मानवीय क्षति भएको श्रेष्ठको भनाइ छ ।
नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा विगत वर्ष भन्दा यस पटक सगरमाथा आरोहण बढी सुरक्षित रहेको र मानवीय क्षति समेत कम भएको बताउनुहुन्छ । आरोहणका क्रममा बढी सर्तकर्ता अपनाइएको, तालीम प्राप्त पथप्रदर्शकको व्यवस्था तथा समयमै सम्पूणं आरोहणको जानकारीलगायतका कारण पनि क्षति कम भएको उहाँको भनाइ छ । आरोहणको रोयल्टीमध्ये ७० प्रतिशत सरकारलाई र ३० प्रतिशत सम्बन्धित जिल्लाको स्थानीय विकासमा खर्च गरिने पनि पूर्वअध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।