अर्थ-स्वास्थ्य

सगरमाथा दिवसः कीर्तिमानी आरोहीलाई सम्मान

काठमाडौँ, १५ जेठ ।  एघारौंअन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा मूल समारोह समितिले कीर्तिमानी आरोही तथा आरोहण क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई आज सम्मान गरेको छ । आरोहणमा दक्ष जनशक्ति उत्पादन गर्ने नेपाल माउन्टेनरिक इन्स्ट्रक्टर एशोसिएसनलाई रु एक लाख राशिको ‘राष्ट्रिय सगरमाथा पुरस्कार’ प्रदान गरियो । जनही रु ५० हजारसहितको ‘तेञ्जिङ हिलारी पुरस्कार’ सगरमाथाको २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने कामीरिता शेर्पा, सगरमाथाको नौ पटक आरोहण गर्ने महिला ल्हाक्पा शेर्पा र उचाइ (हेलिकप्टर उडान) भर्ने क्याप्टेन (सिम्रिक एयर प्रालि) का सिद्धार्थ गुरुङलाई कदरपत्रका साथ प्रदान गरियो । यस्तै एकै परिवारका सात आरोही र एकै परिवारका चार जना एउटै समयमा सगरमाथाको चुचुरामा पुगेर कीर्तिमान बनाउनेलाई गिनिज बुक अफ वल्र्ड रिकर्डसको प्रमाणपत्र प्रदान गरियो ।
सगरमाथा आरोहण गर्ने एकै परिवारका सात दाजुभाइमा मिङ्माछिरि शेर्पा(१९ पटक), निमागोम्बु(१८), पासाङतेञ्जिङ (११), ठूडु(१०), आङ्छिरिङ (१), निमातेम्बा(१) र पेमाथिलि(१) रहनुभएको छ । त्यसैगरी एकै समयमा सगरमाथा आरोहण चार दाजुभाइमा फुर्वातेञ्जिङ शेर्पा, फुर्वाथिलि, पेम्बादोर्जे र दावादिकी हुनुहुन्छ । ती सबै पुरस्कार र प्रमाणपत्र खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले प्रदान गर्नुभयो । सो अवसरमा मन्त्री मगरले सगरमाथालगायत हिमाल आरोहण गरी नेपाललाई विश्वमा चिनाउने साहसी आरोहीलाई राज्यले विशेष सम्मान र सुविधा उपलब्ध गराउनुपर्ने औंल्याउनुभयो ।
सगरमाथा आरोहीसमेत रहनुभएका मन्त्री मगरले सगरमाथा चढाउने शेर्पाको जिम्मेवारीलाई महत्वपूर्ण रुपमा लिई तिनलाई आवश्यक सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । “शेर्पाले आरोहीको जीवन बोकेर पाइलैपिच्छे मृत्युलाई जितेर सगरमाथाको चुचुरोमा पु¥याउँछन् तर पनि ओझेलमा छन्, त्यसैले सगरमाथासहितका हिमाल आरोहणमा महत्वपूर्ण भूमिका खेल्ने शेर्पालाई उच्च सम्मानसहितको व्यवस्थाका लागि सरकारी नीति आवश्यक छ, त्यसका लागि म पहल लिनेछु,”, मन्त्री मगरले भन्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं मूल समारोह समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटाले देशको गौरव, मान र शान सगरमाथाको संरक्षण र प्रवद्र्धनका लागि सरकारले कुनै कसूर बाँकी नराख्ने बताउनुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सगरमाथाको पहिचानलाई विश्व बजारमा प्रवद्र्धन गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटनलाई व्यवस्थित गर्न सरकार र निजी क्षेत्रको साझेदारिता चाहिने उल्लेख गर्नुभयो । विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने मिङ्मा शेर्पाले हिमाल आरोहणमा योगदान गर्ने शेर्पा आरोही तथा पथप्रदर्शकको जीवनोपयोगी सुविधाका लागि राज्यले ध्यान दिनुपर्ने माग गर्नुभयो । सगरमाथाको २२ पटक आरोहण गर्ने कीर्तिमानी आरोही कामीरिता शेर्पाले जीवनको जोखिम मोलेर स्वदेशी तथा विदेशीलाई सगरमाथाको चुचुरामा पु¥याउने शेर्पा आरोही ओझेलमा परेकाले तिनको भूमिकालाई राज्यले कदर गर्नुपर्नेमा जोड दिनुभयो । यसअघि बिहान ठमेलबाट भृकुटीमण्डपसम्म प्रभातफेरी गरिएको थियो ।
नेपालका तेञ्जिङनोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरामा पहिलो पटक पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिनुभएको थियो । सगरमाथामा पहिलो पटक मानव पाइला टेकेको ६५ वर्ष पुगेको छ । सोही दिनको स्मरणमा सरकारले हरेक वर्ष मे २९ लाई सगरमाथा दिवसका रुपमा मनाउने गरेको छ । आरोही हिलारीको विसं २०६४ पुस २७ गते निधन भएको थियो । सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाइँदै आएको छ । हिलारीको निधनपछि सो दिवस मनाउन थालिएको हो ।