Home » Sample Page » लागुऔषधविरुद्ध सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना
Uncategorized

लागुऔषधविरुद्ध सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना

राजविराज, असार ।लागूऔषधविरुद्ध जानकारी एवं परामर्श दिने उद्देश्यले नेपाल–भारत सीमावर्ती क्षेत्र सप्तरीको तिलाठी कोइलाडीमा बुधबारदेखि हेल्प डेस्क राखिएको छ । तिलाठी कोइलाडी– १ तिलाठीस्थित कुनौली सिमानामा हेल्प डेस्क स्थापना गरिएको हो । सप्तरी युथ नेपाल र सवल नेपालले संयुक्तरुपमा राखेको हेल्प डेस्कको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्घाटन गर्नुभयो । लागुऔषधविरुद्धको दिवसको अवसर पारेर सप्तरीमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिँदैछ । सप्ताहव्यापी अभियानको हेल्प डेस्क राखेर उद्घाटन गरिएको छ ।
प्रजिअ पौडेलले भारतसँगको खुला सीमाका कारण सप्तरीमा लागुऔषध प्रयोगकर्ता बढिरहेको बताउँदै यसको नियन्त्रणका लागि हेल्प डेस्कले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले सप्तरीमा लागुऔषध प्रयोगकर्तालाई निरुत्साहित पार्न दैनिक प्रयास भइरहेको बताउनुभयो । जिल्लामा लागुऔषध प्रयोग गर्नेको संख्या भयावह रहेको बताउँदै भारतसँगको खुला सिमानाका कारण त्यसलाई नियन्त्रण गर्न समस्या भइरहेको उहाँले बताउनुभयो ।
त्यस्तै तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले निकट भविष्यमै लागुऔषधविरुद्ध बजेट विनियोजन गर्दै कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ, सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, सिमानामा भारतीयसँग लडेका देवनारायण यादव, सवल नेपालका अशोक साहसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।