स्वास्थ्य

लागुऔषधविरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यक : गृहमन्त्री

ललितपुर । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसारपसारविरुद्ध दलहरुले संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताउनुभएको छ । आज ललितपुरमा लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले केही समयपछि गृहमन्त्रालयले वडास्तरदेखि नै लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलनकैरुपमा शुरु गर्न लागेको जानकारी दिँदै त्यसमा साथ दिन सबैसँग आग्रह गर्नुभयो ।

“राजनीतिक उपलब्धि हासिल गर्न जसरी दलहरुले संयुक्त आन्दोलन गरेका थिए त्यसैगरी विकास र समृद्धिका लागिसमेत संयुक्त आन्दोलन गर्न जरुरी छ,” गृहमन्त्री थापाले भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘लागुऔषध निषेध र मदिरा नियन्त्रणको आन्दोलन सरकार वा नेता एक्लैको प्रयासले मात्रै गर्न सकिँदैन । यो आन्दोलनमा सम्पूर्ण जनताको साथ आवश्यक छ । निकट भविष्यमै वडास्तरबाटै यस्तो आन्दोलनको शुरुवात गर्दैछौँ ।”

यस्तो आन्दोलनमा विद्यालय र महाविद्यालयका विद्यार्थीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।

गृहमन्त्री थापाले भन्नुभयो, “यो आन्दोलनमा जनसहभागिता अनिवार्य छ । युवालाई यो आन्दोलनकोे मूल कमाण्डरका रुपमा जिम्मेवारी दिएरमात्रै लक्ष्यमा पुग्न सकिन्छ ।”

लागुऔषध कारोबारीलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्रले पनि आफ्नो कार्यशैलीमा सुधार गर्न सुधार आवश्यक रहेको उहाँको भनाइ छ ।

गृहले लागुऔषध निषेधलाई गम्भीरताका साथ लिँदै मूलभूत कार्यभारका रुपमा लिएको जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, “लागुऔषधको कारोबार, प्रयोग र ओसारपसार नियन्त्रण होइन पूर्णरुपमा निषेध गर्ने तथा लागुपदार्थ मुक्त देशका रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौँ ।”

सरकारले विकासका लागि पाँच र १० वर्षको योजना बनाएजस्तै गृहमन्त्रालयले लागुऔषधलाई पूर्णरुपमा निषेध गर्ने समयबद्ध योजना बनाएको उहाँले खुलासा गर्नुभयो ।

उहाँले भन्नुभयो, “लागुऔषधका निषेध सरल छैन तर सम्भव छ । विगतमा जस्तो सामान्य अभियान चलाएरमात्रै यो सम्भव छैन, यसलाई आन्दोलनकै रुपमा अघि लैजानुपर्छ ।”

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेत्री एवं सांसद पम्फा भुसालले लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियान पाइलट प्रोजेक्टका रुपमा आफ्नो निर्वाचन क्षेत्र रहेको ललितपुर क्षेत्र नं ३ बाट शुरु गर्न गृहमन्त्रीसँग आग्रह गर्नुभयो ।