जानकारहरुका अनुसार महाभारत पर्वत शृङ्खलाको भूगोल कमजोर रहेको र सोही क्षेत्रमा डोजर र एक्काभेटरको प्रयोग गरेर सडक निर्माण गरिनाले नै पहिरोको मात्रा बढ्दै गएको हो । पछिल्लो सात वर्षमा बाढी पहिरोका कारण एक हजार ६७२ जनाको मृत्यु भएको छ । यस वर्षको हालसम्म २७५ जनाको निधन भएको छ ।
सरकारको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा बाढी पहिरोबाट ६८२ जना घाइते भएका छन् । यस्तै अविरल वर्षाका कारण ५५ जनाको निधन भएको छ । यस वर्षमात्रै रु ६६ करोड ७४ लाख ४३ हजार ६८२ बराबरको क्षति भएको छ ।
यस वर्ष प्राकृतिक विपत्तिका कारण ४८ जना हराइरहेका छन् । यस्तै दुई हजार १२१ जना घाइते भएका छन् । यस्तै महामारीका कारण पछिल्लो सात वर्षमा ९५ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् ।
देशभर नै मनसुन सक्रिय भई भारी वर्षा शुरु भएको छ । मनसुनका कारण वर्षा बढी हुने क्रम शुरु भएकाले बाढी पहिरोको जोखिमसमेत बढ्दै गएको देखिन्छ । बाढी पहिरोका कारण हुने मानवीय क्षति न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरेको जनाएको छ ।
यसकारण बढ्यो बाढी पहिरो : भूगर्भविद् डा कृष्ण देवकोटाका अनुसार पहाडी तथा महाभारत क्षेत्रमा मानवीय अतिक्रमणका कारण पहिरोको जोखिम बढेको हो । बिना अध्ययन, प्राविधिक तयारी नगरी डोजरको प्रयोग गरेर सडक निर्माण गर्ने प्रवृत्तिका कारण पनि महाभारत तथा पहाडी क्षेत्रमा पहिरोको मात्रा बढेको हो ।
यस्तै अन्य प्राकृतिक एवं भौगर्भिक कारणले पनि ठूला–ठूला पहिरो जाने गरेको छ । केही दिन पहिले बागलुङमा गएको पहिरो त्यस्तै भौगर्भिक कारणले गएको डा देवकोटाको भनाइ छ । धादिङको पछिल्लो पहिरो पनि त्यस्तै प्रकृतिको हुन सक्ने देवकोटाको दाबी छ ।
चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरोको मात्रामा वृद्धि भएको छ । वर्षात्को पानी रोक्ने रुख कटान हुँदा पानी सोझै जमिनमा पर्ने र सोस्न नसक्दा समस्या बढेर गएको छ ।
यस्तै महाभारत पर्वत शृङ्खला र चुरे क्षेत्रमा एकखालको दरार पैदा भएको जानकारी दिँदै डा देवकोटाले भन्नुभयो, “प्राकृतिकरुपमा नै सो क्षेत्रमा केही दरार पैदा भएको छ । जसका कारण प्राकृतिकरुपमा नै पहिरोको मात्रा बढ्दै गएको छ । त्यसलाई नियन्त्रणका लागि वन संरक्षण तथा बायो–इन्जिनियरिङ गर्नुपर्छ ।”
पछिल्लो समय मुग्लिन–नारायणगढ सडकखण्डमा बढेको पहिरो पनि मानवीय अतिक्रमणका कारण बढेको उहाँको भनाइ छ । “सडक निर्माण गर्दा बढी मात्रामा मेशिन तथा अन्य उपकरणको प्रयोग गरियो । कमजोर धरातलमा अत्यधिक मात्रामा गरिएका मेशिनको प्रयोग नै पहिरोको कारण बनिरहेको छ ।”
त्रिशूली नदीका कारण पानीको दबाबसमेत सोही क्षेत्रमा पर्ने, भौगर्भिक दरारसमेत सोही क्षेत्रमा रहेको र सडक निर्माणमा अत्यधिक मात्रामा मेशिनको प्रयोग गरिएका कारण सो सडकखण्डमा दैनिक पहिरो खसेको डा देवकोटाको भनाइ छ । पहिरो नियन्त्रणका लागि बायो इन्जिनियरिङ नै उपयुक्त विकल्प रहेको उहाँको सुझाव छ ।
कुन कुन स्थान बढी जोखिममा : विशेषगरी मध्यपहाडी राजमार्गको अधिकांश खण्डमा पहिरोको जोखिम बढी रहेको छ । यस्तै महाभारत तथा पहाडी क्षेत्र, चुरे र महाभारत पर्वत शृङ्खलाको बीचको क्षेत्र, बुटवल–पाल्पा सडकखण्ड, नेपालगञ्ज–सुर्खेत–जुम्ला सडकखण्ड पनि पहिरोको उच्च जोखिममा रहेको छ । डा देवकोटाका अनुसार धनगढी–डडेल्धुरा सडकखण्ड, बनेपा–बर्दिवास, ओखलढुंगा, सोलुखुम्बु, धादिङ, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, पूर्व पहाडका धेरैजसो जिल्लासमेत पहिरोको जोखिममा रहेका छन् ।
यस्तै पासाङ ल्हामु राजमार्ग, पृथ्वी राजमार्ग पनि पहिरोको जोखिममा रहेको छ । ती क्षेत्रमा राहत तथा उद्धारका लागि तम्तयारी हालतमा राख्नुपर्ने आवश्यकता देखिएको छ ।
चट्याङबाट ८०० भन्दा बढीको मृत्यु : चट्याङबाट मृत्यु हुनेको संख्यासमेत पछिल्लो समयमा बढेर गएको छ । यस वर्षको हालसम्ममात्रै ११९ पटक चट्याङ परेका कारण ३६ जनाले ज्यान गुमाएका छन् । यस्तै १४६ जना घाइते भएका छन् भने १७७ परिवार प्रभावित भएका छन् । कूल ८५ घरपालुवा जनावरको मृत्यु हुँदा चारवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको गृह मन्त्रालयले जनाएको छ । विसं २०६८ देखि गत चैतसम्म चट्याङका कारण ७७३ जनाको ज्यान गएको छ । यस्तै सो अवधिमा एक हजार ६९५ जना घाइ भएका छन् ।
घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु : घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका– ५ सैवाङमा घर पुरिँदा भान्सामा आगो तापेर बसेका तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्वकर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको छोरी १५ वर्षीया चित्रा विश्वकर्मा रहेका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । नैजनाको शव परीक्षणका लागि होलेरी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । घट्नास्थल सदरमुकाम लिवाङबाट दुई दिनको पैदल दूरीमा पर्छ ।
पहिरोले विद्यालय भवन जोखिममा : निस्दी गाउँपालिका– ५ स्थित राईकोट आधारभूत विद्यालय भवन पहिरोको जोखिममा परेको छ । वर्षापछि विद्यालय नजिकै पहिरो गएपछि भवन जोखिममा परेको हो । शनिबार राति परेको पानीले बेलडाँडा कठैडाँडा हुँदै गावुडाँडा जोड्ने सडकखण्डमाथि रहेको विद्यालयको मूल द्वार र पर्खाल पहिरोका कारण भत्किएको प्रधानाध्यापक केशबहादुर कालुङले बताउनुभयो । “लगातार वर्षा भए भवन भत्कने खतरा छ,” उहाँले भन्नुभयो ।
बेलडाँडा कठैडाँडा हुँदै गावुडाँडा जोड्ने सडक फराकिलो गरिएपछि पहिरो खस्न थालेको हो । विद्यार्थीलाई अन्य भवनमा राखेर त्रैमासिक परीक्षा सञ्चालन गरिएको छ । कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल एक सय १० विद्यार्थी अध्ययनरत छन् ।
अबिरल वर्षासँगै घर भत्किँदा एक जनाको मृत्यु : गएरातिदेखिको अबिरल वर्षासँगै कैलालीको गोदाबरी नगरपालिका–९ धनचौरी गाउँमा घर भत्किँदा एक परिवारको च्यापिएर एक महिलाको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले गोदाबरी नगरपालिका–९ धनचौरीका कडेरा रानाको काठले बनेको कच्ची घर गएराति भत्किँदा उहाँकी श्रीमती ६० वर्षीया डुठा रानाको च्यापिएर घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।
राति सुतिरहेको अवस्थमा अचानक कच्ची घर भत्किएको थियो । घटनामा घाइते रानाको अवस्था खतरामुक्त रहेको छ । अविरल वर्षाका कारण कैलाली जिल्लाका नदी तथा खोलामा पानीको सतह रातिको समयमा बढेको भए पनि आज मध्यान्हसम्म खतराको अवस्थामा नरहेको जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका प्रमुख एपी चौरसियाले बताउनुभयो । अझै ठूलो वर्षाको सम्भावना रहेकाले नदीतटीय क्षेत्रमा बस्ने बासिन्दाले सतर्क अवस्थामा बस्न आग्रह गरिएको चौरसियाले बताउनुभयो । गएको चौबिस घण्टामा यहाँ ९८ दशमलब ९ मिलिमिटर वर्षाको रेकर्ड भएको छ ।
वर्षापछि उडान अवरुद्ध : बिहानैदेखि परेको पानीका कारण पोखरा विमानस्थलबाट उडान हुन नसक्दा यात्रु समस्यामा परेका छन् । पोखरा विमानस्थलबाट काठमाडौँ, जोमसोम, भैरहवा र भरतपुरका लागि कुनै पनि उडान हुन नसकेको सो विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिनुभयो ।
आइतबार पोखराबाट काठमाडौँका लागि छवटा मात्र उडान भएको थियो । दैनिक पोखराबाट जोमसोमका लागि सातदेखि आठवटा, काठमाडौँका लागि २२ वटा र भरतपुर र भैरहवाका लागि एक/एकवटा उडान हुने गरेको छ । उडान अवरुद्ध हुँदा पोखरामा दैनिक आठ सयदेखि एक हजारसम्म यात्रु समस्यामा पर्ने गरेका छन् ।
साँफे–मार्तडी राजमार्गको ठाउँ ठाउँमा पहिरो : साँफे–मार्तडी सडक जोड्ने सडकखण्ड अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्गको ठाउँ ठाउँमा पहिरो आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गएको शुक्रबार अवरुद्ध बनेको सडक जेसिवी प्रयोग गरी सञ्चालनमा ल्याइए पनि आइतबार राति आएको पानीका कारण जिल्ला कारागार बाजुरादेखि गुइगाड खोलासम्मको सडकमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभएको छ ।
उहाँले दिनुभएको जानकारीअनुसार अवरुद्ध सडक खोल्न पिएस कम्पनीलाई आग्रह गरिएको छ । पानी रोकिएपछि सडक खोल्ने कार्यलाई तीव्रता दिइने प्रहरी प्रमुख बोहराको भनाइ रहेको छ । साँफे–मार्तडी सडक जोड्ने गुइगाडको पुल बन्न नसक्दा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको बताइएको छ । उक्त खोलाको पुल निर्माण कार्य गर्न थालेको नौ वर्ष बित्न लागेको छ ।
ठेकेदारले समयमै पुल निर्माण नगरी दिँदा खोलाको बाटो सवारी साधनको आवतजावत बन्द भएको छ । अविरल वर्षाका कारण सवारी नचले पछि लामो र छोटो दूरीमा जान खोज्ने स्थानीयवासीले हैरानी खेप्नुपरेको छ ।
Add Comment