समाचार

बाढी, पहिरो र डुबान नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

काठमाडौँ,  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले वर्षाको समयमा पहाडमा पहिरो र तराई डुबानको समस्या हुने भएकाले समयमै सचेतना अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विशेष सभामा भाग लिँदै सांसद सुमनराज प्याकुरेलले तराईका जिल्लामा विभिन्न नदीमा पानीको बहाव बढेर डुबानको खतरा बढेको भन्दै रोकथामका लागि समयमै तयारी गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद रामनारायण विडारीले भारतले नेपालको सिमानामा ठूल्ठूला बाध बाँधेका कारण तराईमा प्रत्येक वर्ष डुबानको समस्या हुने गरेको छ भन्नुभयो । सांसद जीतेन्द्र देवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ‘कनेक्टिभिटी’सँग जोडिएका योजनालाई कार्यान्वयनमा लाँदा गम्भीरता अपनाउन आग्रह गर्दै यस्ता परियोजना ऋणमा चलाउन नहुने सुझाव दिनुभयो ।

सांसद वृशेषचन्द्र लालले कैलाली निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका रेशमलाल चौधरीलाई निर्वाचन आयोगले निर्वाचित पदाधिकारीको प्रमाण दिनुपर्ने बताउनुभयो । सांसद विमला राई पौडेलले मन्त्रालयस्तरका गाउँमा जाने बजेटलाई एकीकृत गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद बलराम बास्कोटाले एसइई परीक्षाको ग्रेडिङ प्रणालीमा देखिएको कमजोरी केलाउन आग्रह गर्नुभयो । सांसद धनकुमारी खतिवडाले खोकना र बुङ्गमतीका बासिन्दाले अहिलेसम्म पुनःनिर्माणका लागि दिइने रु तीन लाख अनुदान नपाएको बताउनुभयो ।

सांसद जीवन बुढाले वर्षाले दैलेख, कालीकोट र अछामका विद्यालयका छानो भप्काएको र बालीनाली नष्ट गरेको हुँदा त्यसक्षेत्रका जनताको समस्याप्रति ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो । सांसद नन्दा चपाईंले सुर्खेतमा संविधानसभा निर्वाचनका बेला तत्कालीन एमालेका ऋषिराज शर्मालाई गोली हानी हत्या गर्ने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो ।

सांसद खेमराज नेपालीले योगमायासहित ६८ जना महिलाले राणा शासनविरुद्ध अरुण नदीमा हाम फाल्नुपर्ने कारणका बारेमा अध्ययन गर्न सरकारसँग आग्रह गर्नुभयो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विशेष समयमा उठेका विषयहरुमा सम्बन्धित मन्त्रीले अर्को बैठकमा जवाफ दिने जानकारी गराउनुभयो ।

के छ सरकारको तयारी : गृह मन्त्रालयका राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि मुलुकका विभिन्न पाँच स्थानमा आपत्कालीन क्षेत्रीय भण्डारण गृहलाई तम्तयारी हालतमा राखिएको छ ।

राहत तथा उद्धारका लागि आवश्यक हेलकप्टर तम्तयारी हालतमा राखिएको छ । यस्तै सडक आवागमन सहज बनाउन नेपाली सेनासँगको समन्वयमा ‘हेभी इक्यूपमेन्ट’ परिचालन गर्ने गरी व्यवस्था मिलाइएको छ ।

साविकको क्षेत्रीय प्रशासन कार्यालयमा राहत तथा उद्धारका लागि योजनाबद्ध प्रयास गरिएको प्रमुख आचार्यको भनाइ छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मानवीय सहायता कक्षमा विपद्पछिको उद्धारका लागि त्रिपाल, खाद्य सामग्री तथा अन्य औषधोपचार सामग्री राखिएको छ ।

यस्तै सहयोगी संस्था, नेपाल रेडक्रस तथा अन्य संस्थालाई समेत राहत तथा उद्धारका लागि तम्तयारी हालतमा रहन आग्रह गरिएको छ । यस्तै स्थानीय तहमा पनि विपद् व्यवस्थापनका लागि समिति गठन गरी तयारी हालतमा राखिएको छ ।