भक्तपुर। भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २० आंै हप्ता मध्यपुरथिमिको डुबान क्षेत्रबाट पाँच टन फोहर संकलन गरिएको छ । आज हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले दुई दिनसम्म आएको बाढीबाट डुबानमा परेको मध्यपुरथिमिको राधेराधे क्षेत्रको बस्तीको सरसफाइ गरेको छ ।बस्ती डुबानमा पर्दा बगेर आएर थुप्रिएको फोहर संकलन गर्नुका साथै डुबानमा परेका बस्तीका बासिन्दाको घरभित्र थुप्रिएको फोहर संकलन गर्ने र सफाइ गर्ने काम भएको प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जानकारी दिनुभयो ।सफाइ अभियानमा खानेपानी तथा ढल निकास विभाग अन्तर्गत क्षेत्रीय अनुगमन तथा सुरिवेक्षण कार्यालयका क्षेत्रीय निर्देशक नन्दलाल वन्जाडे, भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मीलगायत जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि एवं अभियन्ता गरी करीब ५०० को सहभागिता रहेको थियो ।डुबानको समस्यामा परेका यहाँका बासिन्दाको सामान सार्न, सफाइ गर्न अभियन्ता टोलीले सहयोग गरेको थियो । अर्को साता पनि यही ठाउँमा थप सफाइ गर्ने भएको छ ।
उता नुवाकोटको तादी गाउँपालिका–१ उर्लेनीको ढाडेमा वर्षासँगै खोलामा आएको बाढी र त्यसको कटानले बगेको पहिरोले आज तीन घर पुरेको छ भने ३४ घर जोखिममा परेका छन् । बाढी र पहिरोबाट मानवीय क्षति भएको छैन भने पशु चौपाया पनि सुरक्षित रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सामाजिक परिचालक धुव्र तामाङले जानकारी दिनुभयो ।
अबिरल आएको वर्षाको कारण ठूलोखोला र हिमचुली खोलामा आएको बाढीले कटान गरी बस्तीमा पहिरो बगेपछि वीरबहादुर तामाङ, राजकुमार तामाङ र श्यामबहादुर भुलेलको घर पुरिएको हो । खोलामा बाढीको सतह बढेपछि घर छोडेर उनीहरु सुरक्षित स्थानतर्फ लागेको समयमा आएको पहिरोले घर पुरेर त्यहाँ रहेका अन्नबाली, लत्तकपडा भाडावर्तन सबै क्षति भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।
उहाँको अनुसार पहिरोले घर पुरिँदा भुजेलले सञ्चालन गर्दै आएको किराना पसलमा रहेका रु १५ लाखभन्दा बढीको सामग्री क्षति पुगेको छ भने पुरिएको घरको क्षतिको लगत निकाल्न बाँकी छ । पहिरोले डाढे र काल्चेका ३४ घरधुरी परिवार उच्च जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न लागिएको गाउँपालिकाको उपाध्यक्ष इश्वरी उप्रेतीले जानकारी दिनुभयो ।
उक्त स्थानलाई २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको कारण जोखिममा रहेको बस्तीको रुपमा भूगर्भविद्ले पहिचान गरेका थिए । ती बस्तीलाई सरकारी तवरबाट समयमा नै स्थानान्तरण गर्न सहयोग नगर्दा बर्षायाममा बासस्थानविहीन हुनुपरेको पीडित राजकुमार तामाङले गुनासो गर्नुभयो । यसैगरी अविरल वर्षासँगै पहिरो जान थालेपछि त्रिपुरासुन्दरी गाउँपालिका–२ घोर्थलीका चार घर विस्थापित भएका छन् भने अन्य सात घर उच्च जोखिममा परेका छन् ।
विस्थापितमध्ये दुई परिवारले आफन्तकोमा आश्रय लिएको र दुई परिवार सुरक्षित स्थानमा टहरो बनाएर बसेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । गत बिहीबार राति परेको पानीसँगै माथिबाट लेदो बगेर आएको र तलबाट पहिरोले तानेपछि अन्य सात घर पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष कर्णबहादुर खड्काले बताउनुभयो ।
यस्तै बिहीबारदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत बाह्रविसे–तातोपानी सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । भोटेकोशी गाउँपालिका–२ स्थित दश किलो भन्ने स्थानमा भोटेकोशी नदीको करीब ७० मिटर सडक कटान गरेकाले खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा दैनिक पानी परेकाले नदीको वहाव वढी रहेको हुदा काम गर्न समस्या उत्पन्न भएको छ ।
भित्तो काटेर सडक बनाउन माथि रहेको वस्ती जोखिममा पर्ने हुँदा त्यसलाई समेत ध्यानमा राखी सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो ।
Add Comment