Uncategorized

मुलुकमा नयाँ किसिमको समाजवाद ल्याउने : उपाध्यक्ष गौतम

काठमाडौँ, २१ माघ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले नेपालमा वाम गठबन्धनले नयाँ किसिमको समाजवाद ल्याउने बताउनु भएको छ । प्रेस चौतारी नेपालको २० औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले संसारले नेपालबाट सिक्ने खालको समाजवाद ल्याउने बताउनुभयो । उहाँले कार्लमाक्र्स र लेनिनले भनेजस्तो समाजवाद ल्याइने बताउँदै उहाँले भन्नुभयो, “तर माक्र्स र लेनिनले भनेको बाटोका आधारमा नभई फरक प्रक्रियावाट समाजवाद ल्याउछौँ ।”
उहाँले आफूले निर्माण गर्ने समाजवाद कसैले होच्याउने किसिमको समेत नहुने धारणा राख्नुभयो । नेता गौतमले पार्टी एकता गर्ने जिम्मेवारी नेकपा (माओवादी केन्द्र)भन्दा एमालेको बढी भएको समेत बताउनुभयो । “ठूलो पार्टीको हिसाबले पार्टी एकता गर्ने जिम्मेवारी एमालेको बढी छ”–उहाँले भन्नुभयो, “पार्टी एकता गर्दा धेरै दिनुपर्ने भए पनि एमाले तयार हुनुपर्दछ ।” उहाँले पार्टी एकता गर्दा दुई पार्टी एकअर्कामा विलय नभएर एक अर्कामा गाभिएर नयाँ शक्तिशाली पार्टी बन्ने बताउनुभयो । उपाध्यक्ष गौतमले अहिले दुई पार्टीबीच छैटौँपटक पार्टी एकताको प्रयास भइरहेको भन्दै अहिलेको प्रयासलाई सफलता पु¥याउने बताउनुभयो ।
दुई पार्टीबीच एकता नभए मुलुकमा ठूलो दुर्घटना हुने बताउँदै उहाँले भन्नुभयो, “दुई पार्टी मिल्न सकिएन भने ठूलो मूल्य चुकाउनु पर्दछ ।” पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनु भएका गौतमले संविधानको गलत व्याख्या गरेर वाम गठबन्धनको सरकार गठनमा ढिलाई भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रतिनिधिसभाले सरकार बनाउने हो । राष्ट्रियसभाको सरकार बनाउनका लागि कत्ति पनि भूमिका रहदैन । तर संविधानको गलत व्याख्या गरेर राष्ट्रियसभाको निर्वाचन नभई सरकार बनाउन दिइएन ।” उहाँले अबको सरकारले भारतस्ँग राम्रो सम्बन्ध बढाउनका लागि नै भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएको बताउनुभयो । उहाँले भारतसँग देखिएका समस्या मित्रतापूर्वक समाधान गरिने समेत धारणा राख्नुभयो ।