अर्थ-स्वास्थ्य

सुनकोशी – कमला डाइभर्सन आयोजनाबारे छलफल

काठमाडौँ । सरकारले सुनकोशी–कमला–मरिन डाइभर्सन परियोजनालाई उच्च प्राथमिकतामा राखेको भन्दै त्यसलाई निकट भविष्यमा नै अगाडि बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतबीच सो आयोजना शीघ्र अगाडि बढाउने विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ । हिमाल, पहाड र तराईलाई समुन्नत पार्ने परियोजना भएकाले प्राथमकिताका साथ सङ्घीय सरकारले अगाडि बढाउन लागेको भन्दै आवश्यक सहजीकरणका लागि प्रदेश नं २ को भूमिका महत्वपूर्ण हुने मन्त्री पुनको भनाइ थियो ।

लामो समयदेखि चर्चामा रहे पनि आयोजनाले गति लिन नसक्दा प्रदेश नं २ को कृषि उत्पादनलाई बढावा दिन नसकिएकाले यस पटक भने सरकारले विशेष कार्ययोजनासाथ काम गर्न लागेको मन्त्री पुनले बताउनुभयो । ऊर्जामन्त्री पुनले भन्नुभयो, “सुनकोशी कमला डाइभर्सन मन्त्रालयको उच्च प्राथमिकतामा छ । केही समयभित्रै विस्तृत परियोजना प्रतिवेदन पनि तयार हुन्छ । सो लगत्तै सरकारले ठेक्का प्रक्रिया शुरु गरिहाल्छ, परियोजनाले दुई नम्बर प्रदेशको विकासमा ठूलो योगदान दिन्छ ।”

सो अवसरमा मुख्यमन्त्री रावतले कर्मचारी व्यवस्थापन र ऊर्जा मन्त्रालय मातहतको आयोजनाको विषयमा मन्त्री पुनको ध्यानाकर्षण गराउनुभएको थियो । भेटमा मुख्यमन्त्री रावतले भारतीय जनता पार्टीका नेता रहनुभएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाहपञ्चमीको अवसरमा जनकपुर आउन लागेको विषयमा जानकारी गराउनुभएको थियो ।

उहाँले त्यसको लागि प्रदेश सरकारले आवश्यक तयारी गरिसकेको बताउनुभयो । मुख्यमन्त्री रावतले प्रदेशअन्तर्गतका कार्यक्रमका विषयमा जानकारी गराउनुका साथै केन्द्र सरकारले अघि बढाइरहेको सुनकोशी कमला डाइभर्सनले सप्तरी, सिराहालगायतका जिल्ला सिँचाइबाट लाभान्वित हुने भएकाले प्राथमिकता दिन मन्त्री पुनलाई आग्रह गर्नुभएको थियो ।