दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा त्यसैखेर गइरहेका बगर क्षेत्रका जग्गामा व्यावसायिक रुपमा तरकारीखेती गर्ने किसानलाई रु एक लाख बराबरको अनुदान प्रदान गर्ने भएको छ । नगर प्रमुख घनश्याम पाण्डेले बगरमा व्यावसायिक तरकारी गर्ने किसानलाई प्राविधिक उपकरण, डिप–बोरिङ, बीउमा सो रकम खर्च गरिने बताउनुभएको छ । उहाँले ३० कठ्ठासम्ममा बगरखेती गर्नेलाई रु एक लाख बराबरको विभिन्न सहयोग गरिने बताउनुभयो । त्यसैगरी व्यावसायिक रुपमा बसन्ती मकैखेती गर्ने किसानलाई पनि बीउको सम्पूर्ण अनुदान दिने र बजारीकरणका लागि सहयोग गरिने भएको छ ।
उपमहानगरपालिकाको कृषि शाखाले व्यावसायिक तरकारी खेतीतर्फ किसानलाई आकर्षित गर्नका लागि आयोजना गरिएको कृषक भेलामा बोल्दै नगर प्रमुख पाण्डेले उपमहानरपालिकाको धारणा सार्वजनिक गर्नुभएको हो । उहाँले उपमहानगरपालिकालाई हरियाली बनाउन किसानलाई आर्थिक रुपमा सक्षम बनाउनका लागि बगरखेतीको अवधारणा ल्याएको बताउनुभयो ।
कार्यक्रममा किसानलाई बसन्ती मकै र बगरखेतीका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा कृषि शाखाका प्राविधिक सहायक शङ्कर न्यौपानेले बसन्ती मकै वर्षमा तीन बाली लगाउन सकिने भएकाले व्यावसायिक रुपमा खेती गर्ने किसानलाई आग्रह गर्नुभयो । प्राविधिक न्यौपानेले एक कठ्ठामा मकैखेती गर्नका लागि दुई हजार खर्च लाग्ने लाग्ने र रु १० हजारसम्म आम्दानी लिन सकिने जानकारी दिनुभयो । उहाँले तुलुसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा बगरखेतीको सम्भावना रहेको भन्दै लौका, तरबुजा र काँक्रालगायतको खेती गर्न सकिने भएकाले यसतर्फ लाग्न किसानलाई सल्लाह दिनुभयो ।-रासस
Add Comment