Uncategorized

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच वान टु वान वार्ता

भक्तपुर, ६ फागुन ।  प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बीचको वान टु वान वार्ता सम्पन्न भएको छ । मध्यपुरथिमिस्थित माओवादी नेता तथा व्यापारी दुर्गा प्रसार्इंको घरमा चारघण्टा लामो भएको डिनरसहितको भेटवार्तामा दुई पार्टी एकता र कार्यदिशा तथा माओवादी केन्द्रको सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ । भेटकाबारेमा जानकारी दिँदै प्रधानमन्त्री ओलीका प्रेस सचिवालय संयोजक चेतन अधिकारीले पार्टी एकताका विषयमा कुराकानी भएको बताउँदै कुराकानी सकारात्मकरुपमा अगाडि बढेको जानकारी दिनुभयो । एकताकाबारेमा छलफल सकारात्मकरुपमा अगाडि बढेको बताउँदै उहाँले अब हुने छलफलले सहमति जुटाएर पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली निवास बालकोटमा शनिबार भएको उहाँहरुको वार्तामा भने आज पुनः वान टु वान छलफल गरी सहमति गरेर आजै पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएपनि समितिको बैठक भने आज बस्न सकेन ।
सोमबार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पुनः वान टु वान निर्णायक छलफल गरी समितिको बैठक बस्ने तयारी भएको बताइएको छ । पार्टी एकताका अधिकांश विषयमा सहमति भइसकेको र बाँकी केही विषयलाई निर्णयमा पु¥याएर प्याकेजमै सहमति गर्ने तयारी भएको बताइएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रलाई सरकारमा सहभागी हुनेको नाम पठाउन प्रचण्डसँग आग्रह गरेको तर प्रचण्डले भने एकीकृत पार्टीका कार्यदिशाका बारेमा सहमति गरौँ भन्नुभएको वार्तास्थल स्रोतले जानकारी दिएको छ । पार्टी एकताको सैद्धान्तिक विषयमा केही कुरा मिल्न बाँकी भएको बताइएको छ ।