राजविराज । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन् । करीब १२५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर सत्यनारायण यादवले बताउनुभयो । जेलर यादवका अनुसार ‘ए ब्लक’ मा १९६ र ‘बी ब्लक’ मा १०७ पुरुष तथा ‘सी ब्लक’मा १८ महिला कैदीबन्दी राखिएको छ । दुई सय ९७ पुरुष र १८ महिला गरी कूल ३१५ जनाको क्षमता रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण कोचिएर बस्नुुपर्ने बाध्यता रहेको छ ।
यति सङ्ख्यामा कारागारमा कैदीबन्दी राखेका कारण पानी तथा शौचालयका लागि लामो लाइन लाग्नुपर्ने बाध्यतासमेत रहेको उहीहरुको गुनासो रहेको छ । विसं २००८ मा निर्माण गरिएको राजविराज कारागार साँघुरो र जीर्ण रहेका कारण कैदीबन्दीलाई समस्या हुने गरेको कारागारले जनाएको छ ।
माटो र ढुङ्गाको पर्खाल रहेको जीर्ण भवनको मर्मत हुन नसक्दा भत्कने खतरासमेत रहेको जेलर यादवले बताउनुभयो । राजविराज कारागारमा ठाउँ अभावका कारण कैदीबन्दीलाई कोचेर राख्नुपरेको कारण गर्मी महीनाको समयमा धेरै समस्या हुने गरेको कारागारका कैदीबन्दी बताउँछन् । कारागारको नाममा रहेको पाँच बिघाभन्दा बढी जग्गामध्ये पूर्व र उत्तरतर्फबाट करीब तीन कठ्ठा जग्गा अतिक्रमणमा परेको उहाँको भनाइ छ ।-रासस
Add Comment