अर्थ-स्वास्थ्य

जापानबाट नेत्रज्योति सङ्घको भवनका लागि सहयोग

गाईघाट । नेत्रज्योति सङ्घ उदयपुर गाईघाटको निर्माण हुँदै गरेको नयाँ भवनको लागि जापानी राजदूतावासबाट रु ९० लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ । नेत्रज्योति सङ्घ उदयपुरका अध्यक्ष भागवत राउत र जापानी राजदूत मासामिची साइगोबीच नेत्रज्योति सङ्घ उदयपुरको निर्माण भइरहेको नयाँ भवनको लागि दूतावासको तर्फबाट आर्थिक सहयोग गर्ने पत्रमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार ८१ हजार १९२ अमेरिकन डलरअर्थात् रु ९० लाख ५० हजार आर्थिक सहयोग गर्ने सहमति पत्रमा हस्ताक्षर भएको नेत्रज्योति सङ्घ उदयपुरका अध्यक्ष राउतले बताउनुभयो । जापानी दूतावासको आर्थिक सहयोगबाट नेत्रज्योति सङ्घको भवन अब तीनतले भएर निर्माण सम्पन्न हुने भएको नेत्रज्योति सङ्घ उदयपुरका प्रतिनिधि बताउँछन् । २८ कोठासहितको उक्त भवन यसै वर्षको चैतसम्ममा निर्माण सम्पन्न भई आगामी वर्षदेखि सञ्चालनमा आउने नेत्रज्योति सङ्घ उदयपुरका उपाध्यक्ष सृजना दनुवार बताउनुहुन्छ ।

सगरमाथा चौधरी आँखा अस्पताल लाहानको सहमति र सहयोगमा २०६५ सालदेखि स्थापना भई सञ्चालन हुँदै आएको नेत्रज्योति सङ्घ उदयपुरले हालसम्ममा एक लाख २६ हजार ८३२ आँखाको बिरामीको उपचार गरेको सम्बद्ध पदाधिकारी बताउँछन् । त्रियुगा नगरपालिकाको पुरानो भवनमा भाडामा सञ्चालन हुँदै आएको नेत्रज्योति सङ्घ उदयपुरले अब आफ्नै बृहत् नयाँ भवनमा सङ्घ सञ्चालन गर्ने भएको छ भने आगामी वर्षदेखि जलबिन्दु, मोतियाबिन्दु जस्ता रोगको समेत शल्यक्रिया सेवा सञ्चालन गर्ने भएको छ ।

हाल नेत्रज्योति सङ्घ उदयपुरमा उदयपुर खोटाङ, भोजपुर क्षेत्रका सोवग्राहीले आँखा उपचारको सेवा लिँदै आएको नेत्रज्योति सङ्घ उदयपुरका प्राविधिक प्रमुख डाक्टर डुल्लीराज तिमल्सिनाले बताउनुभयो । भवन निर्माणको लागि मञ्जुकुमारी चौधरीबाट रु ४० लाख, नेपाल सरकारबाट रु ५० लाख, त्रियुगा नगरपालिका र अन्य दाताबाट रु एक करोडसहित जापानी दूतावासको आर्थिक सहयोगसहित सङ्घको नयाँ भवन निर्माणको लागि रु तीन करोडभन्दा बढीको आर्थिक सहयोग भएको छ ।-रासस