काठमाडौँ । सामूहिक चेतना अभिवृद्धिका लागि आज साँझ ५ बजेदेखि एकै समय विश्वभर सामूहिक भावातीत ध्यान गरिने भएको छ । दिककालमा गुरुचेला परम्पराबाट चल्दै आएको सो ध्यान ओझेलमा परेकामा आधुनिक कालमा महर्षि महेश योगीले विश्वभर पुनःजागरण गर्नुभएको थियो । भावातीत ध्यान आज महर्षि अभियान लागू भएका १९२ देशका ध्यान केन्द्रमा एकसाथ प्रारम्भ गरिने भएको छ ।
विश्व शान्तिका लागि विश्भर एकसाथ ध्यान र सिद्धि कार्यक्रम आयोजना गरिएको नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले राससलाई जानकारी दिनुभयो । विश्वका करीब एक करोड भावातीत ध्यानीले बिहान बेलुका आफ्नो अनुकूलानुसार दुई पटक ध्यान गर्ने गरेकामा सामूहिक चेतना अभिवृद्धिका लागि बेला बेलामा एकसाथ ध्यान र सिद्धि कार्यक्रम गरिन्छ । नेपालका ८२ गुरुकूल, एक दर्जन विद्यालय र पाँच ध्यान केन्द्रमा साँझ ५ बजेदेखि ध्यान तथा ५ बजेर २० मिनेटदेखि सिद्धि सूत्र अभ्यास गरिँदै आएको फाउण्डेशनले जनाएको छ ।
भावातीत ध्यान सिकेका साधकले नजीकको ध्यान केन्द्र वा घरमै बसेर पनि ध्यान गरी सामूहिक चेतना वृद्धि अभियानमा सहभागी हुन सक्ने अध्यक्ष बाँस्कोटाले बताउनुभयो । वैदिक ज्ञान विश्वव्यापी जागरणका लागि नेपालले नेतृत्व गर्न सक्छ भन्ने अभिव्यक्ति महर्षि योगीले दिनुभएकाले उहाँका अनुयायीले हाल नेपालमा यो कार्यक्रमलाई विस्तार गर्न थालेका छन् । महर्षि योगीले ज्योतिर्मठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीबाट उक्त ध्यान सिकी विश्वभर प्रचार गर्नुभएको हो ।-रासस
Add Comment