विविध

चार दिनदेखिको लगातार झरी कहिले थामिन्छ ? मौसमविद्

काठमाडौं । नेपालमा चार दिनदेखि लगातार झरी परिरहेको छ । गत हप्ताको सुरुवातीबाटै वर्षा भए पनि १० भदौदेखि त अबिरल वर्षा हुँदा तराईका विभिन्न जिल्लामा बाढी आएको छ । पूर्वपश्चिम राजमार्गका विभिन्न पुल भासिँदा यातायात पनि प्रभावित बनेका छन् । पहाडमा पहिरो खसेको छ । जेठ अन्तिमबाट सुरु भएको मनसुनपछिको बाढीपहिरोमा हालसम्म ९० जनाको ज्यान गएको गृह मन्त्रालय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ ।

अब कहिलेसम्म झरी पर्छ रु समाचार एजेन्सी न्यूज कारखाना (एनके) ले यो प्रश्न मौसमविद्लाई सोधेको छ । ‘हिजोअस्तीभन्दा आज (आइतबार) झरी केही कम भएको छ । तर, मंगलबारसम्म नै पानी पर्ने देखिन्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले भनिन्, बर्खामा झरी नियमित प्रक्रिया हो । न्यूनचापीय रेखा नेपालको तराई भूभागमा केन्द्रित हुँदा यसले बेसी पानी परेको उनले बताइन् ।

मंगलबारसम्म झरी केही कम भए पनि फेरि मनसुन सक्रिय हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका ७२ घन्टाको मौसम मात्र प्रक्षेपण गर्छ । तर, भारतको मौसम  विज्ञान विभागको प्रक्षेपण र भूउपग्रहबाट प्राप्त तस्बिर आँकलन गर्दा मंगबारपछि फेरि मनसुन सक्रिय भएर झरी पर्न सक्ने देखिन्छ ।  आइतबार बिहान प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी  परिरहेको छ । तर, दिउँसो त्यससँगै कर्णाली र सुदूरपश्चिममा पनी पानी पर्ने आँकलन महाशाखाले गरेको छ ।

‘लगातारको झरीले पहाडी भूभागमा पहिरो र तराईमा बाढीको जोखिम हुन्छ,’ उनले भनिन्, ‘खहरे खोलामा भेलबाढीको जोखिम हुने भएकाले सवैले सतर्कता अपनाउन जरुरी छ । अत्यावश्यक नभइ यात्रा नगर्न अनुरोध गर्दछौं ।’ गत बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म पश्चिम नवलपरासीको बतासा क्षेत्रमा २४ घन्टामै ४३४.२ मिलिमिटर पानी पर्‍यो, जुन अधिक भारी मात्र होइन, यस वर्ष मापन गरिएको दैनिक वर्षामै सबैभन्दा बढी हो ।

यो पटकको झरीमा पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तु तथा नवलपुरमा अत्यधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कडेलका एक मिनेटमा एक मिमी वर्षा हुँदा पनि भल बग्छ । यतिधेरै वर्षाले त  बाढीपहिरो निम्त्याउँछ ।

देशभर वर्षा कायमै, थाहा पाउनुहोस् तीन दिनको मौसम
पछिल्ला दिनमा नेपालमा लगातार पानी परिरहेको छ । वर्षाका कारण बाढीपहिरोका घटना बढ्न थालेको गृह मन्त्रालय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।  आइतबार बिहान काठमाडौं उपत्यकासहित बागमती, प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो अधिकांश भूभागमा पानी पर्नेछ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। राति प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । महाशाखाका अनुसार सोमबार धेरै स्थानमा वर्षाको सम्भावना छ, राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । मंगलबार मौसममा केही सुधार आउने देखिन्छ । मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ ।