विविध

मध्यपहाडी लोकमार्ग लक्षित कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन हुने

भोजपुर । भोजपुरमा मध्यपहाडी लोकमार्ग लक्षित कार्यक्रम सञ्चालन हुने भएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा कृषि तथा पशुपालनलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिने ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय पाख्रीवास धनकुटाले जनाएको छ ।

विश्व बैंकको करिव २४ करोड आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन हुने धनकुटा कार्यालयका कृषि अधिकृत सन्तोष थापाले बताए । त्यस्तै ग्रामिण क्षेत्रमा उत्पादित वस्तुलाई बजारसम्म पुर्‍याउने, उत्पादिन वस्तुको व्यवस्थापन र भण्डारण सहयोग गर्ने योजना रहेको कार्यालयले जनाएको छ । भोजपुरसँगै मध्यपहाडी लोकमार्गमा प्रर्ने प्रदेश १ का पाँचथर, ताप्लेजुङ धनकुटा, खोटाङ ओखलढुङ र उदयपुरमा कार्यक्र सञ्चालन हुने करिडोर कार्यालय पाख्रीवास धनकुटाका प्रमुख हर्षहाङ राईले बताए ।

‘मध्यपहाडी लोकमार्गमा पर्ने स्थानीय तहलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिने छ। योसँगै यस क्षेत्रमा उत्पादित वस्तु संकलन गरि प्याकेजीङ गरेर बजारसम्म पुर्‍याउन सहज हुने छ,’ राईले भने । त्यस्तै कोभिड १९ को असहज परिस्थितबाट अवरूद्ध खाद्य श्रृंखला तथा ग्रामीण अर्थतन्त्रको पुनःस्थापना र प्रवर्द्धन गर्दै रोजगारीका अवसर सिर्जना गर्ने कार्यालयको लक्ष्य रहेको छ । लक्षित क्षेत्रमा पर्ने स्थानीय तहसँगको सहकार्यमा सहकारी तथा कृषक समूहमार्फत कार्यक्रम सञ्चालन गरिने आयोजनाले जानकारी दिएको छ ।-गणेश विष्टर/न्युज कारखाना