विविध

काठमाडौँ महानगर विश्वविद्यालय हो, धेरै कुरा सिक्नु र अनुभव गर्न पाइन्छ — निवर्तमान प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई आज विदाइ गरिएको छ । २०७६ पुस १८ गते महानगरमा पदवहाली गरेका ज्ञवाली २०७८ पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासनको निर्णयबाट सरुवा भएको हो । मन्त्रालयको त्यही दिनको निर्णयबाट महानगरमा लोकनाथ पौड्यालले प्रमुख प्रशासकीय अधिकृत पदमा वहाली गरेको छ । विदाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले निवर्तमान प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई ‘महानगर सेवा सम्मान’ र वुद्ध मूर्ति प्रदान गरेका थिए । कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्य, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष हीरालाल तण्डुकारसहित कर्मचारीहरुको सहभागीता थियो ।

२०७४ जेठ १७ गते जनप्रतिनिधिले पदवहाली गरेपछि महानगरबाट प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरेर सरुवा भइ जानेमा उनि छैटौँ हुन । जनप्रतिनिधिको पदबहालीका गर्दा ईश्वरराज पौडेल कार्यकारी अधिकृत थिए । त्यसपछि क्रमशः धनिराम शर्मा, यादव कोइराला, केदार न्यौपाने, एकनारायण अर्याल र ज्ञवालीले प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसकेका छन् । उनिहरुमध्ये कोइराला, न्यौपाने र अर्याल सचिव हुनुहुन्छ भने पौडेल, शर्मा र ज्ञवाली सहसचिव भएका छन् । यस्तै कोइरालाअघिसम्म कार्यकारी अधिकृत भनिन्थ्यो भने त्यसपछि प्रमुख प्रशासकीय अधिकृत भनिन थाल्यो । पदस्थापन हुन आउने र जाने समयका बीचका केही समय सहसचिव ज्ञवालीले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसकेका छन् ।

विदाई कार्यक्रममा बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, प्रमुख प्रशासकीय अधिकृतहरु समय समयमा परिवर्तन भइरहने हुँदा निर्णय कार्यान्वयन प्रक्रियामा असर पर्ने र महानगरलाई लक्ष्यमा पुग्न कठिन हुने बताए । ‘मैले प्रमुख प्रशासकीय अधिकृत ल्याउन व्यक्ति छानेको छैन र सरुवा गरेर पठाउन कसैलाई भनेको छैन । आएका प्रशासकीय अधिकृतसँग समन्वय गरेको छु । कुरा बुझ्दा बुझ्दै पुरानोको सरुवा हुन्छ । नयाँ आउनेलाई कुरा बुझ्न समय लाग्छ ।’ महानगरले गर्नुपर्ने कामको लक्ष्यका विषयमा कुरा गर्दै मेयर शाक्यले, नीति, बजेट र कार्यक्रम तथा क्षमता भएर पनि महानगरलाई लक्ष्यमा पुग्न कठिन हुनुका कारणमध्ये प्रशासनिक नेतृतव गर्ने प्रमुख प्रशासकीय अधिकृतको बारम्बार सरुवा भइरहनु पनि एउटा भएको उल्लेख गरे ।

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत पौड्यालले महानगरको लक्ष्य पूरा गर्न थोरै समयमा धेरै काम गर्नु पर्ने अवस्था रहेको उल्लेख गर्दै सामुहिक प्रयासबाट लक्ष्यमा पुग्न प्रयास गर्ने बताए । स्थानीय तहको निर्वाचनको कुरा चल्न थालेको छ । महानगरको वार्षिक लक्ष्य र कार्यक्रम कार्यान्वयनलाई तीब्र बनाएर जनप्रतिनिधिले जनतासँग गरेका वाचा पूरा गराउन प्रशासनिक नेतृत्वलाई समन्वयकारी बनाउनेछु । पौड्यालको भनाइ थियो ।

विदाइ भएर जानुहुने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले, काठमाडौँ महानगरपालिका स्थानीय सेवा, सहरी विकास र व्यवस्थापनको विश्वविद्यालय भएको उल्लेख गरे । आफूले गरेका महत्वपूर्ण कामको सम्झना गर्दै ज्ञवालीले भने, ‘करीव २ बर्षे कार्यकालमा महानगरको संगठन संरचना, कर्मचारीको सेवा शर्त सम्बन्धी ऐन, समायोजन ऐनमार्फत १ हजार ५५१ जना कर्मचारीको समायोजनजस्ता काम अविस्मरणीय रहे । विषयलाई प्रक्रियामा लैजाने र निर्णय गर्न जनप्रतिनिधिसँग समन्वयकारी भूमिका गर्न प्रशासनिक नेतृत्व गर्ने अवसर पाएँ । यो मेरालागि पनि अविस्मरणीय रहनेछ ।’

कार्यक्रममा कर्मचारीहरुकातर्फबाट निर्देशकहरु महेशकुमार काफ्ले र वसन्त आचार्यले ज्ञवालीका कार्यकालमा भएका कामका बारेमा चर्चा गरेका थिए । कर्मचारीको वृत्ति विकास तथा क्षमता विकास र महानगरको संस्थागत सुधारका लागि ज्ञवालीले व्यक्तिगत र संस्थागत दुवै प्रकारका प्रयत्न गर्नुभएको उनिहरुको भनाइ थियो ।

कर्मचारी संघ संगठनकातर्फबाट स्थानीय तह कर्मचारी युनियन, महानगर एकाइका अध्यक्ष शिवजी भट्टराई र स्थानीय तह कर्मचारी संघ, महानगर एकाईका अध्यक्ष शम्भु बरालले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीका पालामा कर्मचारी समायोजन गरेर पेशागत हितका लागि महत्वपूर्ण काम भएको धारणा राखे ।