समाचार

एमालेको गढ मानिएको अछाम दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

मगलसैन, अछाम । अछाम जिल्लाका दुईवटै प्रतिनिधिसभामा सत्तागठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर र क्षेत्र नम्बर २ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी भएका हुन् । कुँवर र शाहले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवारलाई फराकिलो मतान्तरले जितेका हुन् ।

अछाम जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट श्रममन्त्री शेरबहादुर कुँवर ४,४८९ मतान्तरले विजयी भएका हुन् । कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत हुन् । कुँवरले १९,५३४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका झपट बोहराले १५ हजार ४५ मत पाएका छन् ।

अछाम २ मा २३ वर्षपछि एमालेको गण भत्किएको छ । यो क्षेत्रमा लगातार हार व्यहार्दै आएको कांग्रेसले योपटक सत्तागठबन्धन दलहरूको समर्थनमा एमालेको गण भत्काएको हो । यहाँ प्रतिनिधिसभा सदस्यमा कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह ७,०२० मतान्तरले विजयी भएका छन् । उनले २२,९५४ मत ल्याउँदा एमालेका यज्ञबहादुर बोगटीले १६,११४ मत ल्याए ।