पेशावर । पाकिस्तानको पेशावरस्थित मस्जिदमा शक्तिशाली विस्फोट भएको छ । पाकिस्तानी समाचार वेबसाइट डन न्युजका अनुसार मस्जिदमा दिउँसो १.४० बजे विस्फोट भएको थियो । यो घटना पेशावरको सिभिल लाइन्स मस्जिदमा भएको हो । विस्फोट हुँदा त्यहाँ नमाज पढाइँदै थियो । डन न्युजका अनुसार सोमबार दिउँसो भएको उक्त विस्फोटमा २८ जनाको मृत्यु भएको छ भने करिब १५० जना घाइते भएको छन् । विस्फोटका कारण मस्जिदको एक भाग भत्किएको छ । यसको भग्नावशेषमा धेरै मानिस पुरिएको खबर छ । विष्फोट भएसँगै प्रशासनको टोली घटनास्थलमा पुगेर उद्धार कार्य भइरहेको छ ।
सोमबारको विष्फोटको कारण मस्जिदमा राखिएको बम हो वा आत्मघाती हमला हो भन्ने खुल्न सकेको छैन । प्रहरीले मस्जिद जाने सबै बाटो बन्द गरेको छ । लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद असिमले अस्पताल वरपरको सम्पूर्ण क्षेत्र खाली गरी एम्बुलेन्सलाई मात्रै यहाँ आउन अनुमति दिइएको बताए । गत वर्ष पाकिस्तानको पेशावरमा पनि यस्तै आक्रमण भएको थियो । त्यसपछि पेशावरको कोचा रिसालदार क्षेत्रमा रहेको शिया मस्जिदमा भएको आत्मघाती हमलामा ६३ जनाको ज्यान गएको थियो ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले आक्रमणको निन्दा गरेका छन् । उनले यस आक्रमणमा संलग्न व्यक्तिहरुको इस्लामसँग कुनै सम्बन्ध नरहेको बताए । उनले भने आतंकवादीहरूले पाकिस्तानको रक्षा गर्नेहरूलाई निशाना बनाएर डरको वातावरण सिर्जना गर्न चाहन्छन् । पाकिस्तानका प्रधानमन्त्रीले जनताको यो बलिदान खेर नजाने बताएका छन् । आतंकवाद विरुद्ध सिंगो देश एकजुट छ ।
Add Comment