Home » Sample Page » महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका परिचालन एवं कोष सञ्चालन निर्देशिका विधायन समितिमा ५५८ जनामध्ये ६३ जनाको उमेर ६० बर्षमाथि
विविध

महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका परिचालन एवं कोष सञ्चालन निर्देशिका विधायन समितिमा ५५८ जनामध्ये ६३ जनाको उमेर ६० बर्षमाथि

काठमाडौँ । काठमाडौँ महानगर पालिका महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका परिचालन तथा कोष सञ्चालन निर्देशिका २०७९ को मस्यौदा विधायन समितिमा पठाउने निर्णय भएको छ । शुक्रबार उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौँ महानगरमा २०५२ सालदेखि स्वास्थ्य स्वयम सेविकाहरु काम गरिरहेका छन् । ५५८ संख्यामा रहेका स्वयम सेविका मध्ये ५ जनाको मृत्यु भइसकेको छ । विदेशगएर वा यस्तै अन्य कारणले २५ जना अनुपस्थित छन् । बाँकी ५२८ मध्ये ६३ जनाको उमेर ६० बर्ष पूरा भइसकेको छ ।

खोप लगायत स्वास्थ्य सम्बन्धी राष्ट्रिय कार्यक्रम सञ्चालन हुँदा स्वयम सेविकाहरु परिचालन हुने गरेका छन् । सरकारका स्वास्थ्य सेवा सम्बन्धी जानकारी समुदायमा लैजाने मुख्य जिम्मेवारी उहाँहरुकै हो । यस सन्दर्भमा उहाँहरुको व्यवस्थापन, हित र परिचालनलाई व्यवस्थापन गर्नुपर्ने भएकोले निर्देशिका जारी गर्न लागिएको उपप्रमुख डंगोलको भनाइ छ । निर्देशिकामा सामुदायिक महिला समूहको गठन, स्वयम सेविका छनौट, कार्य अवधि, पद रिक्तहुने अवस्था, तालिम तथा क्षमता विकास, कामकर्तव्य र अधिकार लगायत विषय समेटिने छन् ।

स्वयम सेविकाहरुको हित प्रवर्धन गर्न सञ्चालन गरिने केन्द्रीय र वडा स्तरीय कोष सञ्चालन, प्रोत्साहनका कार्यक्रम निर्देशिकामा समेटिएका छन् । महानगरबासीको स्वास्थ्यमा सेवाको पहुँच सुनिश्चित गर्न तथा स्वस्थ्य सहर निर्माणको लक्ष्य पूरा गराउन स्वास्थ्य स्वयम सेविकाहरुको परिचालन गर्न सरकारले कार्यक्रम सञ्चालन रणनीति जारी गरेको छ । यही रणनीतिका आधारमा महानगरले निर्देशिका जारी गर्न लागेको हो ।

बैठकमा महानगरका प्रवक्ता नविन मानन्धर, शिक्ष तथा स्वास्थ्य समितिका संयोजक चिनी काजी महर्जन सहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । महिला स्वास्थ्य स्वयम सेविकाका तर्फबाट जानुका श्रेष्ठ भण्डारी, संघ संस्थाको प्रतिनिधित्व गर्दै भवानी अधिकारी, सीमान्तकृत, लोपोन्मुखतथा सेवाको प्रयोग कमभएका समुदायको प्रतिनिधित्वगर्दै उर्मिला मगैया र रजनी देउलाले निर्देशिका सम्बन्धी छलफलमा भाग लिनुभएको थियो । बैठकले स्वयम सेविकाहरुको तालिम लगायत क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, उमेर हदका कारण सेवा रहन नसक्ने स्वयम सेविकाहरुको विदाइ गर्ने लगायत विषयमा छलफल गरेको थियो ।