विविध

लायन्स क्लब फिलोशिपका सक्रिय सदस्य तथा वडा १६ का वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको अन्तिम विदाइ : शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयमा शोक विदा

काठमाडौँ । लायन्स क्लब फिलोशिपका सक्रिय सदस्य तथा वडा १६ का वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ । आर्य घाट लैजानुअघि महानगरपालिकाले उनको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिक शरीरलाई राष्ट्रिय सभा गृहमा राखेको थियो । त्यहाँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले स्व. रिजालको पार्थिव सरीरमा महानगरपालिकाको झण्डा ओढाको थियो । यसैगरी प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, कर्मचारी, विभिन्न पार्टीका नेता तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

आज महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ, ‘महानगरपालिकाले होनहार र स्पष्ट बोल्ने जनप्रतिनिधि गुमाएको छ ।’ यस्तै प्रशासन विभागका प्रमुख दिपक अधिकारीको हस्ताक्षरमा भदौ २२ गते शुक्रबार शोक विदा सम्बन्धी सूचना जारी भएको छ । यस दिन विभाग, आयोजना, कार्यक्रम, सचिवालय, एकाई र वडा कार्यालयहरुलाई विदा दिइएको हो ।

रिजालको मृत्युका विषयमा धापासीस्थित ग्राण्डी अस्पतालले विज्ञप्ति जारी गर्दै, उनि भदौ १७ गते आइतबार दिउँसो १ बजे उपचारका लागि अस्पताल भर्ना भएको उल्लेख गरेको छ । दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरस निमोनिया) भएकोले सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उपचारका क्रममा एक्युट रेस्पिराटोरी डिस्ट्रेस डिन्ड्रोम (एआरडीएस) भएर रिफ्याक्टोरी स्पेटिक सक÷एक्युट किड्नी इन्ज्युरी भएर उपचारका क्रममा आज विहान ७ बजेर ३० मिनेटमा उनको मृत्यु भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा उल्लेख छ ।

पिता मेघनाथ र माता राधादेवीको सन्तानका रुपमा उनको जन्म २०२७ साल कार्तिक १९ गते धादिङ् जिल्लामा भएको थियो । उनि मातापितासँगै श्रीमति कविता, छोराहरु सन्देश र सार्थकका साथमा बस्दै आएका थिए ।