अन्तराष्ट्रिय

पाकिस्तानको बलुचिस्तान प्रान्तमा आतङ्ककारीहरूद्वारा ३३ जनाको हत्या

बलुचिस्तान (पाकिस्तान), भाद्र १० । पाकिस्तानको बलुचिस्तान प्रान्तमा सोमबार दुईवटा छुट्टाछुट्टै सशस्त्र आक्रमणमा कम्तीमा ३३ जनाको ज्यान गएको छ । पहिलो घटनामा बलुचिस्तानको मुसाखेल जिल्लामा बन्दुकधारीहरूले यात्रुहरूलाई बसबाट निकालेका थिए । पाकिस्तानी समाचार माध्यमका अनुसार यात्रुहरुको परिचयपत्र हेरेर पञ्जाब प्रान्तका कम्तीमा २३ जनाको गोली हानी हत्या गरेका थिए । प्रहरी वरिष्ठ उपरीक्षक अयुब खोसोले भने, मृतकमध्ये अधिकांश दक्षिणी पञ्जाबका र केही खैबर पख्तुनख्वाका रहेका बताउदै भने उनीहरूको जातीय पृष्ठभूमिका कारण हत्या भएको हुनसक्छ ।

अर्को आक्रमणमा, बलुचिस्तानको कलात जिल्लामा बन्दुकधारीहरूले चार प्रहरी अधिकारीहरू सहित कम्तिमा १० व्यक्तिको हत्या गरेको अधिकारीहरूले बताएका छन् । सुरक्षा स्रोतले ’जियो न्यूज’लाई बताएअनुसार आतंकवादीहरूले २४ अगस्ट र २५ अगस्टको राती बलुचिस्तानका धेरै ठाउँमा हमला गरेका थिए । मुसाखेलमा राजमार्गमा रहेका १२ वटा गाडीमा पनि हतियारधारीले आगजनी गरेको खोसोले बताए । प्रान्तको सबैभन्दा सक्रिय आतंकवादी समूह बलुच लिबरेशन आर्मी (बीएलए) ले मुसाखेलमा भएको आक्रमणको जिम्मेवारी लिएको छ ।
रेडियो पाकिस्तानका अनुसार राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शहबाज सरिफले आक्रमणको कडा निन्दा गरेका छन् । जरदारीले निर्दोष मानिसको क्रूर हत्या सम्पूर्ण मानवताको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न आह्वान गरेका छन् । प्रधानमन्त्रीले स्थानीय प्रशासनलाई शोकसन्तप्त परिवारलाई पूर्ण सहयोग गर्न र घाइतेलाई स्वास्थ्य उपचार उपलब्ध गराउन निर्देशन दिएका छन् ।

उनले घटनाको तत्काल छानबिन गर्न कानून प्रवर्तन निकायलाई निर्देशन समेत दिएका छन् । शाहबाज शरीफले भने, ’यस घटनाका लागि जिम्मेवार आतंककारीहरूलाई कडा सजाय दिइनेछ ।’ उनले भने, ’देशमा कुनै पनि प्रकारको आतंकवाद स्वीकार्य छैन । राष्ट्रपति र प्रधानमन्त्री दुवैले आतंकवादको समस्या अन्त्य गर्न पाकिस्तानको अटल प्रतिबद्धता व्यक्त गरेका छन् । बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले आतंकवादको यो घटनाको कडा निन्दा गरेका छन् । उनले आतंकवादको कायरतापूर्ण कार्यमा ज्यान गुमाएकाका परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

बुग्तीले आतंकवादी र उनीहरूका समर्थकहरू बाँच्न नसक्ने बताएका छन् । उनले बलुचिस्तान सरकारले आतंकवादीहरुलाई जसरी पनि समातेर कडाभन्दा कार्यवाही गने बताएका छन् । प्रहरीले अर्को आतंकवादी हमलामा बोलानको दोजान क्षेत्रमा रेलवे पुललाई बमले उडाएको बताएको छ । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो तर अन्य प्रान्तहरूको तुलनामा धेरै स्रोतहरू भए पनि यो सबैभन्दा कम विकसित छ । बीएलए र अन्य बलुच पृथकतावादीहरूले यस क्षेत्रमा काम गर्ने पाकिस्तानको पञ्जाब र सिन्ध प्रान्तका मानिसहरूमाथि आक्रमण तीव्र बनाएका छन् ।