Home » Sample Page » इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २ लाख ७० हजार यात्रु अलपत्र, २ हजारभन्दा बढी उडान प्रभावित
अन्तराष्ट्रिय

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २ लाख ७० हजार यात्रु अलपत्र, २ हजारभन्दा बढी उडान प्रभावित

काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि हवाई यातायात प्रभावित हुँदा करिब २ लाख ७० हजार यात्रु अलपत्र परेका छन्। ज्वालामुखीबाट निस्किएको खरानीका कारण २ हजारभन्दा बढी उडान प्रभावित भएका छन् भने राजधानी जकार्तासहितका विमानस्थलले लगातार दोस्रो दिन पनि सञ्चालन स्थगित गरेका छन्।

जकार्ताबाट करिब १५० किलोमिटर टाढा रहेको अनाक क्राकाटाउ ज्वालामुखी शुक्रबार रातिदेखि विस्फोट हुन थालेको हो। विस्फोटका क्रममा लाभाका फोहोरा निस्कनुका साथै ठूलो मात्रामा ज्वालामुखीको खरानी आकाशमा फैलिएको बताइएको छ। खरानी जकार्ता र लाम्पुङ प्रान्तसम्म पुगेको जनाइएको छ।

ज्वालामुखीको खरानी विमान उड्ने हवाई क्षेत्रमा समेत देखिएपछि जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलसहित चारवटा विमानस्थलले सोमबार स्थानीय समयअनुसार साँझ ६ बजेसम्म सञ्चालन बन्द गर्ने अवधि थप गरेका छन्।

विमानस्थल बन्द भएपछि हजारौँ यात्रु उडानको प्रतीक्षामा अलपत्र परेका छन्। सोमबार सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा टिकट फिर्ता लिन तथा उडान कहिले सञ्चालन हुन्छ भन्ने जानकारी लिन यात्रुको लामो लाइन लागेको थियो।

पूर्वी जाभाको मलाङबाट जकार्ता फर्किन लागेकी ४६ वर्षीया फिनाले पटक–पटक उडानको समय परिवर्तन हुँदा यात्रुहरू अन्योलमा परेको बताएकी छन्। उनका अनुसार केही यात्रु बिहानैदेखि विमानस्थलमा रोकिएका थिए भने पछि उडान हुने भनिएका यात्रुले समेत आफ्नो उडानको अवस्था निश्चित गर्न सकेका थिएनन्।

ज्वालामुखी विस्फोटको प्रभाव हवाई यातायातमा मात्र सीमित छैन। प्रभावित क्षेत्रका विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्न थालेका छन् भने केही जलयातायात तथा ढुवानी सेवासमेत प्रभावित भएको बताइएको छ।