काठमाडौं । रुसले युक्रेनमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ८ जना सर्वसाधारणको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणबाट आवासीय क्षेत्रसहित विभिन्न संरचनामा ठूलो क्षति पुगेको छ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युरोपेली देशहरूले सेना पठाएमा त्यसलाई रुससँगको प्रत्यक्ष युद्धका रूपमा लिइने चेतावनी दिएका छन्।
भारतमा शुक्रबार भएको ब्रिक्स शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले युरोपेली सरकारहरूले युक्रेनमा सेना पठाउने विषयमा छलफल गरिरहेको उल्लेख गर्दै भने, “यसको अर्थ रुससँग युद्ध हुनु हो।”
केही युरोपेली नेताहरूले सम्भावित शान्ति स्थापना बलका रूपमा युक्रेनमा सेना पठाउने प्रतिबद्धता जनाएका छन्। तर मस्कोले यस्तो योजनालाई पटक–पटक अस्वीकार गर्दै आएको छ।
पुटिनले रुसले युरोपका लागि कुनै खतरा नरहेको दाबी गर्दै भने, “हामी युरोपेली देशहरूलाई धम्की दिँदैनौँ र धम्की दिने हाम्रो उद्देश्य पनि छैन।”
यसैबीच पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युक्रेनको पोल्यान्ड र मोल्डोभासँग जोडिएका सीमामा भएका पछिल्ला घटनालाई रुसबाट हुन सक्ने थप उत्तेजक गतिविधिको संकेतका रूपमा व्याख्या गरेका छन्।
मंगलबार राति युक्रेन–मोल्डोभा सीमास्थित स्टारोकोजाचे सीमा नाकामा रुसी ड्रोन आक्रमण हुँदा दुई जनाको मृत्यु भएको थियो। बुधबार राति पोल्यान्ड–युक्रेन सीमा नाकामा पनि प्रत्यक्ष खतरा उत्पन्न भएको टस्कले बताएका छन्।
युक्रेनमा पछिल्लो समय रुसले ब्यालेस्टिक क्षेप्यास्त्र तथा जेट इन्जिनयुक्त ड्रोन प्रयोग गर्दै हवाई आक्रमण तीव्र बनाएको छ। विशेषगरी आगामी जाडोयामलाई लक्षित गर्दै युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण बढाइएको युक्रेनी अधिकारीहरूको भनाइ छ।
जेपोरिजियामा रुसी ड्रोन आवासीय क्षेत्रमा खस्दा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन्। क्रिभी रिहमा भएको आक्रमणमा एक जनाको मृत्यु तथा तीन जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
त्यस्तै, ओडेसा र आसपासको क्षेत्रमा भएको ठूलो आक्रमणमा ३५ जना घाइते भएका छन्। आक्रमणबाट एउटा आवासीय अग्लो भवनसमेत क्षतिग्रस्त भएको छ भने भवनका माथिल्ला तल्लाहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।
डोनेट्स्क क्षेत्रको क्रामाटोर्स्कमा ड्रोन आक्रमणबाट कारहरूमा क्षति पुग्दा तीन जनाको मृत्यु भएको छ। झिटोमिर क्षेत्रमा एउटा किराना पसलमा भएको रुसी आक्रमणमा थप दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
यसबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रुसका सामारा र पर्म क्षेत्रमा रहेका दुईवटा रासायनिक उद्योगमा आक्रमण गरेको बताएका छन्। ती क्षेत्रका गभर्नरहरूले भने घटनाबारे तत्काल प्रतिक्रिया दिएका छैनन्।
जेलेन्स्कीले डिसेम्बरमा अमेरिकाको मियामीमा हुने जी–२० सम्मेलनमा आफू र पुटिनलाई निमन्त्रणा गरिए भेटवार्ताका लागि तयार रहेको बताएका छन्।
तर क्रेमलिनका अधिकारीहरूले पुटिनको जी–२० सम्मेलनमा सहभागिताबारे अहिलेसम्म कुनै निर्णय वा छलफल नभएको बताएका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जेलेन्स्की वास्तवमै पुटिनसँग भेट्न चाहन्छन् भने उनी मस्को आउन सक्ने पुरानै प्रस्ताव दोहोर्याएका छन्।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पनि रुस वार्ताका लागि तयार रहेको बताएका छन्। तर वार्ता चलिरहेकै अवस्थामा पनि रुसले युक्रेनमा जारी सैन्य कारबाही नरोकिने स्पष्ट पारेका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग भएको कुराकानीपछि रुसी राष्ट्रपति युद्ध अन्त्य गर्ने सम्झौता गर्न इच्छुक रहेको दाबी गरेका थिए। ट्रम्पले युद्ध अन्त्यका लागि मुख्य अवरोधका रूपमा पुटिन र जेलेन्स्कीबीचको व्यक्तिगत द्वन्द्वलाई औँल्याउँदै आएका छन्।








Add Comment