धर्म-संस्कृति

कसरी मनाउने तीज दर खाने नाममा फजुल खर्च नगरौं ? – डा. केदार कार्की

तीज पर्व कसरी मनाउने भन्ने प्रश्न र चर्चा हरेक वर्ष हुने गर्छ । यसवर्ष पनि हिन्दू महिलाहरुको पर्व तीज आउन १० दिनमात्रै बाँकी छ । तर, महिलाहरुलाई भने तीज लाग्न थालेको महिनादिन जति भइसक्यो ।दर खाने, खुवाउने, चट्ट मेकअपमा सजिने, पार्टी प्यालेस र होटलमा गएर रमाइलो गर्ने । पछिल्ला दिनहरुमा यिनै माध्यमबाट तीज मनाइँदै आएको देखिन्छ । हुन त आफूले सक्ने हैसियतमा पर्व मनाउँदा प्रश्न गर्ने नगर्ने दुई पक्षमा बहस हुने गर्छ ।

साउन महिना हरियो रंगमय हुँदा बजार पनि हरियाली थियो । महिला केन्द्रित हरिया सामग्रीले बजार रंगिएको थियो । तीज लाग्यो राताम्य छ बजार । राता सारी, ब्लाउजहरु सामाजिक सञ्जालभरि प्रदर्शित छन् । युट्युब रातै छन् आधुनिक भाकाका तीज गीत र भिडियोहरुले ।
हामी बजार चलायमान बनाउनुपर्ने दायित्वमा पनि छौं । व्यवसायीहरु पर्वहरुले नै वर्षभरको आर्थिक बोझ कम गर्ने बताउँछन् । बजार अनुकूल आफू बनाउने नाममा समाजको एक व्यक्तिको भड्किलो व्यवहारले कम आय हुने व्यक्तिलाई कस्तो असर पर्ला ?

महिलाहरुले ‘हरितालिका तीज’ को रौनक वजार क्षेत्रमा सुरु भएको छ । तीज आउन अझै २ हप्ता बाकि छ तर तीजको नाममा खाने÷खुवाने काम सुरु भएको छ । पछिल्ला दिनहरुमा तीज भड्किलो हुँदै गएको छ । तीजका नाममा पार्टी प्यालेस र सभा गृहहरुमा आयोजना गरिने कार्यक्रमले त्यसको महत्वलाई घटाएको छ ।

तीजका नामा शहरी क्षेत्रमा हुने गतिविधिले वर्गको स्पष्टसंग विभाजन गरेको छ, महिलाको सुुन्दरताको परिभाषा साडी एवं गहनामा सिमित बनाएको छ । त्यसैगरि तीजका गीतहरुमा तीजको मर्म समेटीन छाडेका छन् अस्लील शब्दहरु छताछुल्ल पोखिएका हुन्छन् । व्रत बस्नु पनि ‘फेशन’ जस्तै भइसकेको छ ।

तीज नेपाली महिलाहरुले मनाउने एउटा महत्वपूर्ण पर्व हो । पौराणिक कालदेखि चलिआएको परम्परागत पर्व तीजका नाममा पछिल्लो समयमा बढेको विकृतीले समाजलाई कता डो¥याउदै छ भनेर मनन गर्नु पर्ने भएको छ । प्रत्येक वर्ष तीज भड्किलो बनाउने गरिएको छ । तीज आउनुभन्दा हप्तौं अघिदेखि दर खाने र खुवाउने प्रचलनले यसलाई निकै खर्चिलो बनाइरहेको छ । धर्म, संस्कृति र चाडपर्वको नाममा समाजमा बढ्दै गएको यस्तो विकृतिले नकारात्मक प्रभाव बढाउँदै लगेको छ ।

परम्परागत रुपमा तीजको अघिल्लो दिन घरघरमा आफन्त दिदीवहिनी जुटेर मिठामिठा परिकारको साथमा दर खाने र अर्को दिन निराहार वर्त वसी तीज पर्व मनाउने नेपाली परम्परा रहेको छ । आफ्ना दुःख भुलाउन र भोलिपल्ट बसिने हरितालिका तिजको अवसर पारी नेपाली महिलाहरुले आइतवार दर खाँएका छन् । भाद्र शुक्ल द्धितीयाका दिन दर खाने चलन छ ।

तर पछिल्लो समय आधुनिकताका नाममा महिना दिन अघिदेखि नै तिजको दर खाने चलन बढ्दै जाँदा यसले समाज र संस्कृतिमा समेत असर परेको पाइएको छ । महिनादिन अघि नै विभिन्न ठाउँमा दर खान जाँदा त्यसका निम्ति पहिरन र खानपानका लागि खर्च बढ्दै गएको धेरैको अनुभूति छ । शहर वजार क्षेत्रमा दिन दिनै दर खाने चलन बढ्दो छ ।

विभिन्न पार्टी प्यालेस, होटल, क्याफे या घरमा महिना दिन अघिदेखि दिनहुँ जसो दरको कार्यक्रम हुदैआएका छन् । पछिल्लो समय तिज र दरमा बढी सामाजिक विकृति, देखावटी र तडकभडक देखाउने गरिएको छ । यसबाट तीजलाई अहिले पैसा हुने र नहुने चाडको रुपमा परिभाषित हुन थालेको छ । पहिला घरमा गरेका दैनिक कामबाट फुर्सद लिन र पीडा भुलाउन माइत गएर तीज मनाउने खाने चलन थियो, चाड अहिले आएर देखावटी, तडकभडकमा परिणत भएको छ।

धर्म संस्कृतिका अभियन्ताहरु यसप्रति चिन्तित छन्। श्रीमद् भागवत वाचिका राधीका दास तिज र दर खाने परम्परागत संस्कृति पछिल्लो आधुनिकताले हराउँदै गएको बताउँछिन्। “जे थियो त्यो मासिँदै गएको छ’ उनले भनिन् “सबै मोर्डन भएका छन्, के भाइटीका एक महिना अघिदेखि ३० दिन नै मनाउन मिल्छ र? त्यसका मौलिकता र पहिचान हुन्छन् नि ।”

कस्तो हो दर खाने?
टाढाटाढा रहेका चेलबेटीहरु माइतीघरमा भेला भएर वा आफ्ननै घरमा रहेर खीर, गुँद, हलुवा,ढकनी, घ्यु दही दुध मिठाइ, फलफूल लगायतका मिठा परिकारको दर खाने पुरानो चलन छ। भोलिपल्ट निराहार व्रत बस्ने भएकाले भोलिपल्टको आडका लागि अघिल्लो दिन साँझ अथवा बेलुकी शरिरलाई ताकत दिने खालका खाद्यान्नको दर खाने चलन रहेको बुढापाकाको भनाइ छ। हरितालीका तिजका बेला पानी पनि नखाई व्रत बस्ने र त्यस दिन महिलाहरुले नाचगान पनि गर्ने भएकाले शक्ति आवश्यक हुने भएकाले गुलिया र शरिरमा फुर्ति दिने खालका वस्तु सेवन गरिन्छ।

कतै कतै साँझमा अन्य चिज नखाइ दर खाने प्रचलन छ भने कति ठाँउमा पहिले खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । दर पकाउन महिलाहरुलाई श्रीमान, दाजुभाइ, छोराले पनि सहयोग गर्ने र रातको समयमा नाचगान गर्दै रमाइलो गर्ने परम्परा पनि यथावतै छ।
तीजको अवसरमा दर खुवाइनु नराम्रो पक्कै होइन । तर, त्यसलाई व्यवस्थित र मितव्ययी गर्नु भने जरुरी छ । अहिले खाने र खुवाउने अनि अनावश्यक गहना र पोशाक प्रदर्शन गर्ने नाममा विकृति बढेको स्पष्ट छ । महिलाहरुमा विभाजन गरिदिएको छ ।

तीजको धार्मिक महत्व मात्र नभएर छुट्टै सामाजिक महत्वसमेत छ भन्ने बुझ्नु जरुरी छ । पहिलेको नेपाली समाजलाई हेर्ने हो भने उदारवादी सोच, लैङ्गिक समानता, महिलाको पहुँच आदिजस्ता विषयहरु एकादेशको कथाजस्तो लाग्छन् । तर त्यसमा परिर्वतन हुदै आएको छ । आज हाम्रा चाडपर्वहरु सद्भाव, आत्मीयता र समाज जोड्ने अवसर बनेका छन् । त्यसैले तीजलाई पनि त्यहि मान्यतामा मनाउनु पर्दछ ।

आधुनिकीकरणको नाममा तीजको धार्मिक, पारम्पारिक र सामाजिक विशेषतामा आँच पुग्ने गरि भड्किलो बनाउनु हुदैन । तीज हिन्दू नेपाली महिलाको यो पर्व मात्र नभएर संस्कृति बोकेको एउटा महत्वको विशेष चाड पनि हो । त्यसलाई त्यहि मान्यता अनुसार मनाउनु हाम्रो कर्तव्य हो । आज तीजका नाममा महिनौंदेखि दर खाने र फजुल खर्च गर्ने जुन प्रवृतिको विकास भएको छ त्यसले पर्वको गरिमालाई पनि बचाउदैन भने आर्थिक रुपमा पनि असर गर्ने छ ।

तीजको धार्मिक महत्व जे जस्तो भए पनि यसको सामाजिक महत्वलाई नै बुझेर सबैले ठिक समय र दिनमा मनाउन सक्ने बनाउनु हामी सबैको कतव्र्य हो । तीज पछिल्लो समयमा उत्पीडनमा परेका महिलाको पीर, व्यथा उजागर गर्ने पर्वको रुपमा पनि विकास हुँदै गएकोमा यसको सामाजिक महत्व बढ्दै गएको हो । तर तडकभडकपूर्ण फजुल खर्च गरेर महिनौं दिन अगाडीबाट दर खाने नाममा भोज गरेर तीजको त्यो सामाजिक महत्वलाई निस्तेज पार्ने काम कतै हामीहरुले गरेका त छैनौं ? सबैले आफैलाई प्रश्न गरौं ।

यो प्रश्नतर्फ महिलाहरुले नै अझ बढी ध्यान दिनु पर्दछ भन्ने लाग्दछ । तीजलाई भड्किलो र विकृतिपूर्ण बन्दै गएमा यसको सामाजिक, सांस्कृतिक महत्व तथा गरिमा ओझेलमा पर्ने निश्चित छ । धर्म, संस्कृति र चाडपर्वको नाममा कुनै पनि प्रकारको विकृति बढ्नु उचित हुँदैन । त्यसैले तीजको दर खाने नाममा महिनौंबाट गरिने फजुल खर्चको अन्त्य गरौं ।