विविध

चीनमा उइगुर मुस्लिममाथि अत्याचारको विषयमा मुस्लिमको सबभन्दा ठूलो हिमायती बताउने पाकिस्तान मौन किन ?

काठमाडौं, भााद्र ३० । छिमेकी चीनको सिन्चियाङ प्रान्तमा रहेका उइगुर मुस्लिममाथि अन्याय र अत्याचार भएको कुरा जगजाहेर छ । उइगुर मुस्लिममाथि अत्याचार हुँदा, उनीहरुको मानवअधिकार हनन् हुँदा विश्वभरका राष्ट्रहरुले त्यसको विरोध जनाएका थिए । यहाँसम्म कि यसको विरोध नेपालका पनि कैयौं भूभागमा भएका थिए ।

चीन सरकारले एकातिर आफ्नै देशका मुस्लिमका विभिन्न गतिविधिमाथि प्रतिबन्ध लगाएको छ भने नेपालका मुस्लिमहरुप्रति सहानुभूति देखाउँदै आफ्नो प्रभाव जमाउन खोजेको नागरिक अगुवाहरु भन्छन् । चीनको यस्तो क्रियाकलापप्रति आशंका पनि व्यक्त गरिँदैछ कि नेपाली मुस्लिम समुदायमा आफ्नो प्रभाव किन बढाउन खोज्दैछ ।

चीन उइगुर समस्यामा पश्चिमाहरूले अनावश्यक खेलेको आरोप लगाउने गर्दछ भने अन्य मुलुकले त्यहाँ चीनले जाति हत्या गरी मानव अधिकारको व्यापक उल्लंघन गरेको आरोप लगाउँछन् । पश्चिमा देश र संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगको आरोप थियो कि चीनले १० लाखभन्दा बढी उइगुरीलाई १२०० भन्दा बढी यातना शिविरमा थुनेर राखेको छ । चीनले त्यस्ता शिविर सन् २०१७ पछि खोल्न थालेको थियो । चीनले त्यस्ता शिविर खोलिएको र उइगुरीलाई राखिएको स्वीकार गरेको छ । तर, त्यस्ता शिविरमा कुनै नराम्रो काम नगरेको चीन सरकारको दाबी छ ।

चीन सरकारले उइगुर मुस्लिममाथि यतिसम्मको प्रतिबन्ध लगाउन खोजियो कि अजान बजाउन निषेध, पैजामा पैतालासम्म लगाउनुपर्ने, कुनै पनि मुस्लिम देश बाहिर जाँदा सबै जानकारी दिनुपर्ने, कुनै पनि पर्वमा समूहमा भेला हुन नपाउने लगायतको रोक लगाएको छ । चार वर्ष पहिले मस्जिद भत्काएर सौचालय बनाइएको पनि कुरा बाहिर आएको थियो । चीनमा उइगुर मुस्लिममाथि त्यो किसिमको मानवअधिकार विरोधी कार्य हुँदा विश्वका धेरै राष्ट्रहरुले विरोध जनाएका थिए तर मुस्लिमको सबभन्दा ठूलो हिमायती बताउने पाकिस्तानले एक पटक पनि विरोध जनाएन ।

चीनको सिन्चियाङ प्रान्तमा रहेका उइगुर मुस्लिमहरुमाथि अन्याय र अत्याचार हुँदा विश्वभरिका राष्ट्रहरुले विरोध जनाउँदा नेपालमा पनि विरोध भएको थियो । नेपालको सिरहा, सुनसरी, पर्सा र काठमाडौं जिल्लाका न्यायप्रेमी मुस्लिम समुदायले विरोध जनाउनुका साथै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । अनौठो कुरो के हो भने चीनले मधेशका मदरसाहरुमा चाइना स्टडी सेन्टरका पदाधिकारीहरुद्वारा प्रस्ताव गरिएको थियो कि चाइनिज भाषामा अध्ययन÷अध्यापन गराउने । त्यसका लागि मदरसामा डोनेशन दिने प्रलोभनसमेत दिइएको थियो । चीन स्वयम् आफ्नो देशका मुस्लिमका विभिन्न गतिविधिमाथि प्रतिबन्ध लगाउँदै आएको छ भने नेपालको खासगरी मधेश क्षेत्रका मुस्लिमप्रति सहानुभूति देखाउनु पछाडि रहस्य के भन्ने कुराको चर्चा हुन थालेको छ । — एजेन्सीहरुको सहयोगमा/ -newsdesk1998@gmail.com