नेपालको राजनीतिक इतिहास सधैंजसो आन्दोलनहरूले निर्देशित हुँदै आएको छ । राणा शासनको अन्त्यदेखि गणतन्त्र स्थापनासम्म हामीले थुप्रै जनआन्दोलन देखेका छौं, जसको लक्ष्य सत्ताको स्वरूप, शासनको व्यवहार र जनताको अधिकार सुनिश्चित गर्नु थियो । यस्तै एउटा पछिल्लो समयको चासोको विषय बनेको छ – जेन जीको नेतृत्वमा गरिएको आन्दोलन ।
जेन जीको आन्दोलनले जनतामा भएको निराशा र आक्रोशलाई अभिव्यक्त गर्यो । जनताले लामो समयदेखि अनुभूत गर्दै आएको भ्रष्टाचार, विकासमा सुस्तता, र जनउत्तरदायी शासनको अभावविरुद्ध आवाज उठाउनु आफैंमा सकारात्मक पक्ष हो । साथै आन्दोलनले युवावर्ग र आम जनमानसमा राजनीतिक चेतना थप बढायो । सडकमा उत्रिएका धेरै नागरिकहरू पहिले राजनीतिक गतिविधिबाट विमुख थिए, तर यस आन्दोलनले उनीहरूलाई सक्रिय बनायो ।
आन्दोलनले परम्परागत दलहरू–जस्तै नेपाली काँग्रेस र एमाले र माओवादी प्रतिका असन्तुष्टिलाई उजागर गर्दै नयाँ नेतृत्वको आवश्यकता दर्शायो । यसले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ पार्ने सम्भावना पनि बोकेको थियो । आन्दोलनका क्रममा विद्यालय, अस्पताल, सरकारी कार्यालय, सडक, पुल आदि धेरै संरचनाहरूमा तोडफोड र आगजनी भए । हजारौं करोडको मूल्यमा रहेको सम्पत्ति क्षति भयो, जुन अन्ततः जनताकै सम्पत्ति हो ।
आन्दोलनको मागहरू स्पष्ट थिएनन् । के सरकारको मात्र विरुद्ध थियो, कि व्यवस्थागत परिवर्तनको चाहना थियो – भन्नेमा द्विविधा थियो । सरकार ढालिसकेपछि पनि पुरानै संविधान, पुरानै कानुन र पुरानै संरचनालाई अंगीकार गरिनु नै आन्दोलनको उद्देश्यमाथि प्रश्न उठाउँछ ।
आन्दोलनले समस्याहरू औंल्यायो, तर समाधान प्रस्तुत गर्न असफल रह्यो । वैकल्पिक राजनीतिक कार्यक्रम, संविधान संशोधनका स्पष्ट खाका, वा जनमुखी शासन प्रणालीबारे स्पष्ट योजना थिएन ।
अन्त्यमा आन्दोलन सधैं गलत हुँदैन, तर हरेक आन्दोलनको मूल्यांकन यसको दीर्घकालीन प्रभाव, प्राप्त उपलब्धि र त्यसले दिएको सन्देशबाट गरिनुपर्छ । जेन जीको आन्दोलनले जनआवाज उठायो, जनतामा चेतना बढायो र केही हदसम्म सत्तामा ब्अअयगलतबदष्ष्तिथ ल्याउने प्रयास गर्यो । तर यसले जुन किसिमको विध्वंस गर्यो, त्यसबाट प्राप्त उपलब्धि त्यति स्पष्ट छैन । अझ महत्वपूर्ण कुरा – यदि अन्ततः संविधान, कानून र प्रणाली उहीँ हो भने, आन्दोलनको बलिदानबाट के नयाँ प्राप्त भयो भन्ने प्रश्न अनुत्तरित छ ।
हर आन्दोलनले परिवर्तन ल्याउनैपर्छ भन्ने होइन, तर परिवर्तनको लागि गरिएको हरेक प्रयासले देश र जनताको हितमा सकारात्मक मार्गचित्र दिनैपर्छ । जनआन्दोलन केवल सरकार ढाल्ने साधन होइन, जनताको जीवनस्तर सुधार्ने र राजनीतिक उत्तरदायित्व सुनिश्चित गर्ने माध्यम हुनुपर्छ । त्यसैले भविष्यका आन्दोलनहरू सोचविचार, योजना र उत्तरदायित्वसहित अघि बढ्नु जरुरी छ – ताकि त्यसले परिवर्तन मात्र होइन, समृद्धिको बाटो पनि खोलोस् । – सिटीपोष्ट दैनिकमा प्रकाशित
Add Comment