अन्तराष्ट्रिय

म्यासेन्जर, फेसबुक र इन्स्टाग्राममा प्राविधिक समस्या, विश्वभरका प्रयोगकर्ता प्रभावित

काठमाडौं — मेटा कम्पनीका सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा बुधबार प्राविधिक समस्या देखिएको छ। नेपालसहित विश्वका विभिन्न देशका हजारौँ प्रयोगकर्ताले सन्देश पठाउन, प्राप्त गर्न तथा प्लेटफर्म प्रयोग गर्न कठिनाइ भएको बताएका छन्।

इन्टरनेट सेवामा आउने अवरोधको निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार फेसबुक र म्यासेन्जरमा समस्या सम्बन्धी रिपोर्ट एकाएक बढेका छन्। प्रयोगकर्ताले फेसबुकमा लगइन गर्न नसक्ने, न्युज फिड रिफ्रेस नहुने तथा मोबाइल एप लोड नहुने समस्या भोगेका छन्।

यस्तै, म्यासेन्जर प्रयोगकर्ताले सन्देश पठाउँदा वा प्राप्त गर्दा कनेक्सन त्रुटि (Connection Error) देखिने, च्याट सूची लोड नहुने र सञ्चारमा अवरोध भएको गुनासो गरेका छन्। मेटाकै अर्को प्लेटफर्म इन्स्टाग्राममा पनि यस्तै समस्या देखिएको बताइएको छ।

घटनाबारे मेटा कम्पनीले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। समस्या सर्भरमा आएको त्रुटिका कारण हो वा नियमित मर्मतसम्भारका क्रममा आएको प्राविधिक गडबडी हो भन्नेबारे कम्पनीले स्पष्ट पारेको छैन।

प्रारम्भिक जानकारीअनुसार समस्या सबै प्रयोगकर्तामा समान रूपमा नभई केही क्षेत्रका प्रयोगकर्तामा बढी देखिएको छ। समस्या देखिएपछि धेरै प्रयोगकर्ताले अन्य सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गरिरहेका छन्। केही दिनअघि पनि मेटाका प्लेटफर्ममा यस्तै प्रकारको प्राविधिक समस्या देखिएको थियो।