अन्तराष्ट्रिय

टर्की भ्रमणका क्रममा ट्रम्पमाथि सुरक्षा खतरा, अन्तिम समयमा विमान परिवर्तन

वाशिङ्टन/अंकारा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना टर्कीबाट अमेरिका फर्किने क्रममा सम्भावित सुरक्षा जोखिमका कारण अन्तिम समयमा विमान परिवर्तन गरेका थिए। अमेरिकी अधिकारीहरूका अनुसार इरान समर्थित प्रोक्सी समूहबाट ट्रम्प र उनी सवार विमानलाई लक्षित गर्न सक्ने विश्वसनीय सुरक्षा सूचना प्राप्त भएपछि यस्तो निर्णय गरिएको हो।

यो सुरक्षा खतरा ट्रम्प नाटो शिखर सम्मेलनमा सहभागी भइरहेका बेला सार्वजनिक भएको थियो। उनी टर्की पुग्दा कतारले अमेरिकालाई उपलब्ध गराएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग गरेका थिए। तर उक्त विमानमा पुरानो एयर फोर्स वन जस्तै उन्नत क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नभएको बताइएको छ।

सुरक्षा जोखिमबारे जानकारी प्राप्त भएपछि अमेरिकी सिक्रेट सर्भिस ले ट्रम्पलाई पुरानो एयर फोर्स वन प्रयोग गर्न सुझाव दिएको थियो। त्यसपछि उनी पुरानै विमानबाट अमेरिका फर्किएका थिए।

ह्वाइट हाउसले घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन। तर एक वरिष्ठ प्रशासनिक अधिकारीले राष्ट्रपति र उनको प्रतिनिधिमण्डलको सुरक्षाका लागि आवश्यक सबै सावधानी अपनाइएको बताएका छन्।

प्राप्त सूचनाअनुसार नयाँ विमानलाई मात्र लक्ष्य बनाइएको नभई ट्रम्प र उनी सवार जुनसुकै विमानलाई निशाना बनाउने सम्भावित योजना रहेको थियो। सुरक्षा सूचनाबारे प्रशासनभित्र पनि सीमित अधिकारीहरूलाई मात्र जानकारी दिइएको थियो भने अमेरिकी कंग्रेसका प्रमुख सदस्यहरूलाई समेत यसबारे विस्तृत जानकारी गराइएको थिएन।

यसअघि ट्रम्पले विमान परिवर्तन गर्नुको कारण बेलायतमा रहेका अमेरिकी सैनिकलाई नयाँ विमान अवलोकन गराउने उद्देश्य रहेको बताएका थिए र सुरक्षा कारण अस्वीकार गरेका थिए। तर पछि सार्वजनिक भएका विवरणहरूले सुरक्षा जोखिमका कारण नै विमान परिवर्तन गरिएको देखाएका छन्।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले नयाँ एयर फोर्स वन सुरक्षित रहेको तर थप सुरक्षा स्तरोन्नतिका लागि यस वर्षको शरद ऋतुमा करिब एक महिनासम्म सेवाबाट बाहिर रहने जानकारी दिएकी छन्। सो अवधिमा राष्ट्रपति ट्रम्पले पुरानै एयर फोर्स वन प्रयोग गर्ने जनाइएको छ।

यसैबीच, अमेरिकी सिक्रेट सर्भिसले राष्ट्रपति तथा अन्य उच्च पदस्थ व्यक्तिमाथिको सुरक्षा खतरा विगतकै सबैभन्दा उच्च स्तरमा पुगेको जनाएको छ। निर्देशक शन करनका अनुसार वर्तमान सुरक्षा वातावरण अत्यन्त संवेदनशील र चुनौतीपूर्ण बनेको छ।