काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुमा शनिबार पर्यटक बोकेको एक सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जनाको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सेस्ना क्याराभान सी–२०८ विमान विश्वप्रसिद्ध नाज्का रेखा (Nazca Lines) माथि हवाई अवलोकन गराइरहेका बेला दुर्घटनामा परेको हो।
विमानमा ११ जना पर्यटक र दुई जना चालक सवार थिए। पेरुका अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये दुई जर्मनी, दुई स्पेन र सात इटालीका नागरिक रहेका छन्।
दुर्घटनापछि उद्धार टोली घटनास्थलमा परिचालन गरिएको भए पनि दुर्घटना अत्यन्त भीषण भएकाले जीवित उद्धारको सम्भावना नरहेको जनाइएको छ। हालसम्म चार जनाको शव फेला परिसकेको छ भने बाँकी शव खोज्ने कार्य जारी छ।
स्थानीय समयअनुसार दिउँसो करिब १ बजे पिस्को विमानस्थलबाट उडेको विमान नाज्का क्षेत्रमा पर्यटकलाई दृश्यावलोकन गराइरहेका बेला दुर्घटनामा परेको थियो। दुर्घटनाको कारण भने अझै खुल्न नसकेको र सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाएको छ।
दुर्घटनाग्रस्त विमान स्थानीय वायुसेवा कम्पनी एरोडियानाको रहेको बताइएको छ। कम्पनीले घटनापछि सम्बन्धित निकायसँग समन्वय गर्दै आफ्ना उडान सञ्चालन प्रक्रियाको समीक्षा गर्ने जनाएको छ।
नाज्का रेखा विश्वभरका पर्यटकको प्रमुख आकर्षण मानिन्छ। मरुभूमिमा हजारौँ वर्षअघि बनाइएका विशाल आकृतिका कारण प्रसिद्ध यो क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ। यहाँ यसअघि पनि साना पर्यटक विमान दुर्घटना भएका थिए।








Add Comment