सिराहा । सिराहामा बोलबम यात्रामा रहेका श्रद्धालु सवार ट्याक्टरको ट्रेलर पल्टिँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित फुलकुमारी महतो स्कुलको गेटअगाडि उतरवाहिनीबाट बन्दीपुरतर्फ जाँदै गरेको ज.१ त ४८०८ नम्बरको ट्याक्टर उकालोमा पुगेपछि अनियन्त्रित भई ट्रेलरसहित पल्टिएको हो। ट्रेलरमा बोलबम श्रद्धालुहरू सवार थिए।
दुर्घटनामा धनुषा जनकपुर उपमहानगरपालिका–१५ रामपुरका १३ वर्षीय अनुराग मण्डल गम्भीर घाइते भएका छन्। उनलाईसहित अन्य घाइतेलाई उद्धार गरी फुलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हामा उपचारका लागि लगिएको छ।
दुर्घटनापछि ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक धनुषा जनकपुर उपमहानगरपालिका–१५ रामपुरका करिब ३५ वर्षीय रामबिहारी मण्डल भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।








Add Comment