काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार रहेका धनुषाका एक प्रतिवादी कतारबाट पक्राउ परेका छन्।
धनुषाको धनौजी गाउँपालिका–५ निवासी मो. ताहिर राईन घटनापछि फरार रहेकाले उनको खोजी तथा पक्राउका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले गत जुलाई २८ मा राईनविरुद्ध रेड नोटिस जारी गरेको थियो।
इन्टरपोल शाखा र कतारस्थित एनसीबी दोहाबीचको समन्वयमा राईनलाई कतारमा पक्राउ गरिएको हो। पक्राउपछि उनलाई कतार एयरवेजको उडानमार्फत सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको प्रहरीले जनाएको छ।
विमानस्थलमा इन्टरपोल शाखा (एनसीबी काठमाडौं) बाट खटिएको प्रहरी टोलीले राईनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाएको छ। घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।








Add Comment