विविध

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा म्याग्दीचोकस्थित पोखरा–बागलुङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

घट्टेखोलाबाट पोखरातर्फ आउँदै गरेको ग १४ प २५१७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार म्याग्दीको धौलागिरी गाउँपालिका–२ लुलाङका १६ वर्षीय अनिल विक गम्भीर घाइते भएका थिए। टाउकोमा चोट लागेका उनलाई तत्काल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पुर्‍याइएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

मोटरसाइकल चालक सोही स्थानका १८ वर्षीय दिनेश विकसमेत घाइते भएका छन्। उनको बायाँ खुट्टा, बायाँ आँखा र मुखमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

दुर्घटनामा परेको मोटरसाइकल अस्थायी प्रहरी पोस्ट हेम्जाको नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।